आयोजनाको भुक्तानी दिँदा ४ लाख कमिसन लिने खानेपानी डिभिजन कार्यलयका इन्जिनियर पक्राउ

दियो पोस्ट  

काठमाडौँ, साउन १४ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय स्याङजामा कार्यरत इन्जिनियर (आठौँ तह) बसी अख्तर मोहम्मदले खानेपानी आयोजनाको भुक्तानी दिँदा कमिशन माग्ने गरेको खुलेको छ । मंगलबार एक सेवाग्राहीसंग घुस लिएको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

अख्तियारको कार्यलय पोखराबाट खटिएको टोलीले उनलाई घुसवापतको ४ लाख रुपैयाँ सहित पक्राउ गरेको हो । उनिबाट बरामद गरिएको ४ लाख रुपैयाँ खानेपानी योजनाको भुक्तानी दिँदा कमिशनवापत लिएको रकम रहेको अख्तियारले बताएको छ । टोलीले गोप्य सुचनाको आधारमा मोहम्मदलाई पक्राउ गरेको हो ।

मोहम्मदले आयोजनाको भुक्तानी दिँदा कुल रकमको २० देखि २५ प्रतिशतसम्म कमिशनवापत घुस माग्दै आएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहम्मदको कृयाकलापको विषयमा थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिएका छन् ।