सदनमा काँग्रेसको ४५ मिनेट नाराबाजी, भोलीसम्मका लागि वैठक स्थगित

दियो पोस्ट  

काठमाडौँ, साउन १५ । गत मंगलबार संघिय संसदको प्रतिनिधि सभा वैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाका सांसदहरुले रोष्टम घेरेर संसद अवरुद्ध गरे । सभामुख कृष्णबहादुर महराले प्रतिपक्षी दलको मागको बारेमा जानकारी भइसकेको भन्दै बारम्बार बसिदिनका लागि आग्रह गरे । तर ४५ मिनेटसम्म पनि संसद भवनमा नाराबाजी चर्कियो । स्थिति असामान्य भएपछि सभामुख महराले वुधबार अर्थात १५ गतेसम्मका लागि वैठक स्थगित नै गरे ।

सोमबार स्थागित भएको बैठक आज ११ बजे तय भएको थियो । संसद वैठकको शुरुवातमा राष्ट्रिय गान बजाइन्छ । राष्ट्रिय गान बज्दा सबै सांसदहरु उठे । राष्ट्रिय गानपश्चात सबै सांसदहरु आफ्नो स्थानमा बसे । सभामुख महराले संसदको कामकारवाही सुरु भएको घोषणा गर्ने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाका सांसदहरु आफ्नो स्थानबाट जर्याकजुरुक उठे ।

सभामुख महराले बस्नका लागि सांसदहरुलाई आग्रह गरे तर उनको कुरालाई प्रतिपक्षी सांसदहरुले सुनेको नसुनै गरिदिए । त्यसपछि महराले वैठकको शुन्य समय शुरु भएको जानकारी गराउनेबित्तिकै उठिरहेका सांसदहरु बेल घेर्न पुगे । लगत्तै मर्यादापालकहरुले सभामुख अघिल्तिरबाट घेरा बनाइहाले । त्यसपछि प्रतिपक्षी सांसदहरुले सदनमा नाराबाजी शुरु गरे । ‘संसदको सर्वोच्चता कायम गर’, ‘निर्मलाको हत्यारालाई कारवाही गर’, ‘संसदिय छानविन समिति गठन गर’, ‘मानवअधिकारको हनन् गर्न पाइँदैन’ लगायतका नारा लगाउँदै संसद अवरोध गरे ।

यसबिचमा सभामुख महराले पटकपटक संसदको छलफललाई नरोक्न आग्रह गरे । सभामुखको आग्रहको बेवास्ता गर्दै करिब ४५ मिनेटसम्म प्रतिपक्षी सांसदहरुले नाराबाजी गरे । जतिनै आग्रह गर्दापनि प्रतिपक्षीका सांसदले सदन चल्न नदिएपछि सभामुखले भोली २ बजेसम्मका लागि वैठक स्थगित भएको घोषणा गरे ।

सत्तापक्ष र प्रतिपक्षको जुहारीले सदनमा जनताका सरोकारका विषयहरु छलफल हुन पाएका छैन । यसअघि पनि सदन अवरुद्ध गरेको काँग्रेसले निर्मला पन्त हत्याकाण्ड र सर्लाही घटनाको छानविनका लागि संसदीय समिति बनाउनुपर्ने माग गरेको छ । यस विषयमा सरकारलाई जानकारी भइसकेको भएतापनी सदनमा दैनिक सरोकार तथा महत्वपुर्ण विषयमा छलफल नहुँदा राज्यलाई निकै घाटा भएको नेकपाका सांसदहरु बताउँछन् ।