
काठमाडौँ, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने षड्यन्त्र भएको भन्दै माइतीघरमा प्रदर्शन गरिएको छ । बिहीबार युवा संघ निकटका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन गर्दै माइतीघरमा नाराबाजी गरेका हुन् ।
पार्टीका शीर्ष नेताहरुले ओलीसँग प्रधानमन्त्री र अध्यक्ष पदबाट राजिनामा मागेपछि त्यसको बिरोधस्वरुप प्रदर्शन गरिएको हो । प्रदर्शनमा ‘सरकार ढाल्न पाइँदैन, आज होइन भोलीलाई, हाम्रो समर्थन ओलीलाई’ लगायतका नारा लागेका छन् ।
स्थायी समिति वैठकमा अर्का अध्यक्ष प्रचण्ड, उपाध्यक्ष गौतम, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायतले प्रधानमन्त्रीको कार्यशैलीको चर्को आलोचना गर्दै राजिनामा माग गरेका थिए । विशेषगरि मदनजयन्ती कार्यक्रममा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको कारण पार्टीभित्रका शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीले भारतबिरुद्ध त्यसरी बोल्न नहुने बताएका थिए । एकथरि नेताहरुले भने प्रधानमन्त्री ओलीले आफ्नो असफलतालाई ढाक्नका लागि झुटको सहारा लिएको बताउँदै आएका छन् ।
प्रचण्ड–ओली रस्साकस्सीपछि कार्यकर्ताहरुमा समेत पुर्व माओवादी र पुर्वएमालेमा ध्रुविकरण देखिन थालेको छ । पुर्वमाओवादी पक्षधर कार्यकर्ताहरुले सामाजिक संजालमा प्रधानमन्त्री ओलीको चर्को विरोध गरेका छन् भने पुर्वएमालेका नेता कार्यकर्ताहरुले प्रचण्डको विरोध गर्दै ओलीको समर्थन गरेका छन् ।