
काठमाडौँ, असार १९ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबिच बालुवाटारमा करिब ३ घण्टा लामो वार्ता भएको छ । शुक्रबार मध्यान्ह १२ बजेबाट शुरु भएको वार्ता दिउँसो ३ बजेसम्म चलेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
छलफलमा नेकपा महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि उपस्थित रहेका थिए । छलफलमा पार्टी एकतालाई दृढ बनाएर लैजाने सहमती भएको बताइएको छ । पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको संघारमा पुुगेको भन्दै नेताहरुबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन ओली र प्रचण्डबीच छलफल भएको हो । दुई अध्यक्षबिचको छलफल पनि निकै सकारात्मक भएको स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिएका छन् ।
तीन घण्टा लामो छलफल भोली पुन गर्ने गरि सकिएको हो । बिहीबार बसेको नेकपा स्थायी समितिको वैठक भोली १२ बजे बस्ने गरि स्थगित भएको थियो । यो बिचमा पार्टीको नेतृत्वपंक्तिले अध्यक्ष एवंम् अध्यक्ष ओलीसँग समझदारी गर्ने र उनलाई सहमतीमा ल्याउने हिसाबले स्थायी समिति वैठक २ दिनका लागि स्थगित गरिएको थियो । सोही अनुरुप नेकपाका अन्य शीर्ष नेताहरुले दुई अध्यक्षसँग पार्टी एकतामा खलल पुग्ने काम नगर्न र पार्टीलाई फुटतर्फ नलैजानका लागि आह्वान गर्दै निरन्तर वार्ता र संवादमा जुटिरहेका छन् ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेपछि भारतले आफूलाई हटाउन लागेको बताएका थिए।जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए।
जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको छ। अहिलेसम्म बोलेका अधिकाशं सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन्।
बिहीबार बिहान नेकपाका दोस्रो पुस्ताका नेताहरूसँगै बसेर पार्टी एकतालाई जोगाउनु पर्ने र दुई पार्टी एक हुँदाको सहमतिलाई आधार मानेर अघि बढ्नु पर्नेमा छलफल गरेका थिए।