
काठमाडौँ, असार २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबिच निर्णायक छलफल शुरु भएको छ । पार्टी फुट्न नदिनका लागि समाधान खोज्नको लागि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल शुरु भएको हो ।
छलफलमा दुबै अध्यक्षको तर्फबाट साक्षीस्वरुप दुई÷दुई नेता उपस्थित छन् । प्रधानमन्त्री ओलीको तर्फबाट महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेल छन् भने प्रचण्डको तर्फबाट जनार्दन शर्मा र बर्षमान पुन सहभागी छन् ।
पछिल्लो समय निकै पेचिलो बन्दै गएको नेकपा भित्रको आन्तरिक कलह सतहमा आउन थालेको हो । नेकपा भित्रको आन्तरिक कलहको कारण सिंगो पार्टी नै फुट्ने अवस्थामा पुगेको हो । पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई अध्यक्ष अथवा प्रधानमन्त्रीमध्य एक पदबाट राजिनामा दिनका लागि अधिकांश स्थायी समिति सदस्यहरुले माग गरेका थिए ।
यता प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले पार्टी फुटे फुटोस् तर आफुले दुबै पदबाट राजिनामा गर्न नसक्ने बताएपछि कार्यकारी अध्यक्ष प्रचण्डलगायतका अन्य नेताहरुले भने पार्टी फुटाउन नहुने बरु सहमतीका साथ अगाडी बढ्नुपर्ने भन्दै प्रधानमन्त्रीसँग निरन्तर छलफल गर्दै आएका छन् ।
सहमती नजुट्दा नै शनिबार बस्ने भनिएको स्थायी समिति वैठक स्थगित भएको थियो । प्रधानमन्त्री ओलीले निर्णयको लागि थप समय माग गरेपछि वैठक सारिएको थियो । र, बालुवाटारमा आज भइरहेको दुई अध्यक्षबिचको छलफलबाट सहमती खोजिने बताइएको छ ।