काठमाडौँ, असार २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा आइपुगेको चर्चा हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको साथ खोसेको खोजेको छ । आइतबार नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति वैठकमा प्रधानमन्त्रीले देउवाको सहयोग मागेको काँग्रेस नेताहरुले सार्वजनिक गरेका हुन् ।
आइतबार नै ओली र प्रचण्डबिच छलफल भएपछि नेकपा नेता सुवास चन्द्र नेम्बाङ देउवासँग भेट गर्न पुगेका थिए । आइतबारको कार्यसमिति वैठकमा देउवाले आफुसँगको भेटमा नेम्बाङले राष्ट्रपति माथि नै षड्यन्त्र हुन आँटेको भन्दै काँग्रेसको साथ मागेको कुरा कार्यकर्ताहरुमाझ ब्रिफिङ गरेका थिए ।
कार्यकर्ताहरुमाझ ब्रिफिङ गर्दै सभापती देउवाले आफुले त्यसबारेमा केही नबोलेको र पार्टीभित्र छलफल गरेपछि निर्णय गर्ने बताएको उल्लेख गरेका छन् । यद्यपी गणतन्त्र नै संकटमा पर्नेगरि भने कोही कसैलाई पनि सहयोग नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रतिपक्षी दल नेपाली काँग्रेससँग सहकार्य गर्दा प्रधानमन्त्री ओलीले एमसीसी पास गराउनु पर्ने, नागरिकता विधेयक संसोधन गर्नुपर्ने लगायतका अन्य केही विषयमा सम्झौता गर्नुपर्ने हुन्छ । नेपाली काँग्रेसले पार्टीभित्रबाट नै एमसीसी पारित गराउनुपर्ने निर्णय गरेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले पार्टी फुटाएर काँग्रेस सँग सहकार्य गरेको खण्डमा उक्त माग सम्बोधन गर्नुपर्ने छ ।
यता, सत्तारुढ दलका दोस्रो पुस्ताका नेताहरु भने पार्टीलाई फुटको संघारमा पुग्न नदिनका लागि दुबै अध्यक्षहरुलाई सहमतीमा ल्याउन लागि परेका छन् । कृषीमन्त्री घनश्याम भुसालको नेतृत्वमा एक समिति नै बनाएर दुई अध्यक्षहरुलाई सहमतीमा ल्याउने प्रयास गरिएको छ ।
प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबिचको टकरावकै कारण नेकपा फुटको संघारमा आइपुगेको हो । अध्यक्ष दाहालले पार्टी स्थायी समिति वैठकमा पार्टी एकता नतोड्नको लागि आफुले सक्दो कोसिस गर्ने तर प्रधानमन्त्रीले पार्टी फुटाउनै खोजे कसैको पनि केही नलाग्ने अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई जोगाउनकै लागि भएतापनी आफुले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद छोड्न नसक्ने बताएका थिए । नक्सा पारित गराएपछि भारतले षड्यन्त्र गर्न थालेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले यसमा कोही पनि सफल हुन नसक्ने बताएका थिए ।