काठमाडौँ, असार २९ । सरकारले केही दिनअघि मापदण्ड तोकेर सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेपछि मयुर यातायातले राजधानीमा बस सेवा शुरु गरेको छ । सरकारले सार्वजनिक सवारी साधन चलाउन निर्देशन दिएको भएतापनि विभिन्न माग राख्दै यातायात व्यवसायी राष्ट्रिय महासंघले तत्काल सवारी साधन नचलाउने निर्णय गरेको थियो ।
तर, महासंघले निर्णय गरेअनुसार गाडी थप थन्काएर राख्दा व्यवसायीहरुलाई थप नोक्सान हुने भन्दै मयुर यातायातले सोमबार देखि राजधानीमा बस सेवा शुरु गरेको हो । मयुरले काठमाडौँको चक्रपथमा चारवटा बस चलाउन थालेको छ भने काठमाडौं–धुलिखेल–पनौती रुटमा दुई वटा बस चलाएको छ ।
यात्रुको चाप कम भएको कारण तत्कालका लागि सो संख्याका बसहरु चलाइएको मयुर यातायात कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले बताएका छन् । उनले छिट्टै आवश्यकता अनुसार अन्य बसहरु पनि संचालनमा ल्याउने तयारी भइरहेको बताएका छन् ।
मयूरले सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरेको हो । बसमा मास्क अनिवार्य गरिएको छ ।