उद्योग वाणिज्य महासंघ निर्वाचनः चन्द्र ढकाल नेतृत्वको प्यानल घोषणा, शेखर गोल्छालाई चुनौती !

दियो पोस्ट  

काठमाडौँ, असार ३० । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका निम्ति चन्द्रप्रसाद ढकालले उम्मदेवारी घोषणा गरेका छन् । मंगलबार राजधानीको बालुवाटारमा आयोजित एक कार्यक्रममा ढकालले आफ्नो प्यानल घोषणा गरेका हुन् । यसअघि उपाध्यक्ष रहेका ढकालले वरिष्ठ उपाध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

उनको प्यानल अन्तर्गत नगर÷जिल्ला उपाध्यक्षमा गुणनीधि तिवारी, एशोसियट उपाध्यक्षमा रामचन्द्र सांघाई र बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ रहेका छन् । उम्मेदवारी घोषणा गर्दै ढकालले आफ्नो प्यानल सजिलै विजयी हुने आत्मविश्वास ब्यक्त गरेका छन् । आफ्नो टिम अनुभवी रहेको र साना, मझौलादेखि ठुला व्यापारिक घरानासम्मको उपस्थिति रहेको बताए ।

कार्यक्रममा बोल्दै ढकालले आफुहरु सँधै सबैकिसिमका व्यवसायीहरुसँग सम्पर्कमै रहिरहने र उनिहरुको दुखेसो र समस्याहरुको समाधान तर्फ लागिरहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । ‘हाम्रो यो टीम अनुभवले भरिएको छ । विश्वासले भरिएको छ। टीममा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ । त्यति मात्रै नभएर यो टीमको गाउँ जिल्लादेखि नीतिगत तहसम्म पहूँच छ’, उनले भने, तपाईंलाई दुःख परेको बेला हाम्रो टीम तपाईंको नजिक हुनेछ, तपाईंले खोजेको बेला पहुँचमा रहनेछ, समस्यालाई नीति निर्मता कहाँ पुर्याइदिएर समाधान खोजिदिनेछ ।

ढकालले संघका भावी अध्यक्ष शेखर गोल्छालाई चुनौती दिँदै विगत नबिर्सन आग्रह गरे । वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउनुपर्ने प्रावधानलाई नहटाउनका लागि आफुले निकै मेहनत गरेको बताउँदै ढकालले यदी त्यसो नगरेको भए हालका अध्यक्ष सो पदमा पुग्नेबारे प्रश्न गरे ।

‘आज म एउटा कुरा खुलेर भन्नुपर्ने अवस्थामा छु, जब केही महिना अघि नेतृत्वमा बसेका अधिकांश साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन् भनेर कसले लविङ गरेको थियो ? भविष्यमा हामीले जे गरौंला गरौंला तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत नगरेको भए आज के हुन्थ्यो ? हाम्रो चाहना छ, उहाँले यो कुराको हेक्का पनि राख्नै पर्छ ।’ ढकालले भने ।

चन्द्र ढकालको प्रतिद्वन्दीका रुपमा किशोर प्रधान समुहले उम्मेदवारी दिएका छन् । सो समुहलाई शेखर गोल्छाले समर्थन गरेका छन् । सोही कारण संघको निर्वाचनमा निकै प्रतिस्पर्धा हुने देखिएको छ ।

यता चन्द्र ढकालको प्यानललाई संघका पुर्व अध्यक्ष भवानी राणाले साथ दिएकी छिन् । कार्यक्रममा टेलिफोनमार्फत उनले सो प्यानललाई शुभकामना दिएकी थिईन् । यस्तै संघका पुर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले पनि चन्द्र ढकाल प्यानलकै समर्थन गरेका छन् ।

सिफारिस