
Photo Courtesy: Kanak Mani Dixit's twitter
काठमाडौँ, असार ३१ । साझा यातायातले काठमाडौँ उपत्यकामा बिहीबारदेखि सेवा संचालन गर्ने भएको छ । सरकारले निश्चित मापदण्ड तोकेर सार्वजनिक यातायातका साधनहरुलाई चल्न दिने भएपछि साझाले पनि भोलीदेखि बस सेवा पुनः संचालन गर्न लागेको हो ।
कोरोनाको महामारी र लकडाउनको कारण करिब ४ महिना सार्वजनिक सवारी साधनहरु थन्किएर बसेका थिए । सरकारले चलाउन दिने निर्णय गरेको भएतापनी यातायात व्यवसायी संघले केही मागहरु राखेर गाडी चलाउन अस्वीकार गरेका थिए ।
सरकारले यातायात व्यवसायीहरुको मागको सम्बोधन गर्ने सहमती पछि उपत्यकाका सडकहरुमा भाडाका गाडीहरु संचालनमा आउन थालिसकेका छन् ।
लकडाउन पश्चात सरकारको निर्णयसँगै सबैभन्दा पहिले मयुर यातायातले सेवा सुचारु गरेको हो । अहिले उपत्यकामा संयुक्त यातायात, सुन्दर यातायात लगायत केही कम्पनीका बसहरु संचालनमा आएका छन् ।
भोलीदेखि संचालन हुने साझा यातायातले शुरुमा २६ वटा गाडी मात्र चलाउन भएको छ । यात्रुहरुको पातलो उपस्थितीका कारण साझाले शुरुमा थोरै बस संचालन गर्ने र आवश्यकताअनुसार बसको संख्या बढाउदै जाने बताएको छ ।
साझा यातायातका बसहरु लगनखेल– रत्नपार्क–टिचिङ हुँदै नयाँ बसपार्क, लगनखेल–रत्नपार्क–टिचिङ हुँदै बुढानिलकण्ठ, गोदाबरी–लगनखेल–रत्नपार्क, लामाटार–लगनखेल–रत्नपार्क, लगनखेल–सातदोबाटो–कलंकी हुँदै थानकोट, लगनखेल–नयाँ बानेश्वर–चाबाहिल हुँदै नयाँ बसपार्क, रत्नपार्क–कलंकी–स्वयम्भू हुँदै बालाजु, रत्नपार्क–नयाँ बानेश्वर–कोटेश्वर हुँदै सूर्यविनायक लगायतका रुटमा संचालन हुने बताइएको छ ।