सिंहदरबार गेटैमा कामचोर ठेकेदारको राज : साढे २ करोडमा बनेको कर्ब स्टोन र ब्लकमा प्वालैपाल !

दियो पोस्ट  

काठमाडौं, २३ असार । मुलुकको प्रमुख प्रशासनिक निकाय हो सिंहदरबार । सिंहदरबारको कम्पाउन्ड बाहिर सरकारले पैदल यात्रीलाई हिँड्न सहज होस् भनेर भाटभटेनी, अनामनगर र पुतली सडक क्षेत्रमा कर्ब स्टोन र ब्लक बिछ्याएर सुन्दर बनाउने योजना अघि सारेको थियो ।

तर, सिंदरबारकै द्वारमा निर्माण गरिएको यो आयोजनामा चरम भ्रष्टाचार भएको पाइएको छ ।


ठेकेदारको लापरबाही र सरोकारवालाले ध्यान नदिएका कारण काठमाडौंको अनामनगर क्षेत्रमा कर्ब स्टोन र ब्लक छापेर सकिएको एक महिनामै भत्किएको छ । ठेकेदारको लापरबाहीका कारण निर्माणकै क्रममा भत्किएपछि पुन निर्माण शुरु गरिएको छ ।


शहरी पूर्वाधार विकास विभागगले वागमती प्रदेशको काठमाडौं महानगरपालिका स्थित अनामनगर, भाटभटेनी र पुतलीसडक क्षेत्रमा कर्ब स्टोन र ब्लक छाप्ने ठेक्का दिएको थियो । उक्त कार्यको ठेक्का कमलजित आर ए जेभीले पारेको महानगरपालिका स्रोतले जनाएको छ । २ करोड ३३ लाख ३२ हजार १ सय ६४ रुपैयाँको यो आयोजना निर्माणकै क्रममा लथालिंग भएको हो ।


२०७७ भदौ २६ गते ठेक्का सम्झौता भएको थियो । सम्झौतामा २०७८ जेठ ३० गतेसम्म योजना सम्पन्न गर्ने विषय उल्लेख थियो । तर निर्माण अवधी सकिए लगत्तै अनामनगर क्षेत्रमा कर्ब स्टोन ब्लक भासिएको छ ।

स्रोतका अनुसार ठेकेदारले कमजोर आधारमा ‘ईन्टरलक’ गर्दा अनामनगर क्षेत्र लगायत अधिकांश क्षेत्रमा ब्लक भासिएको हो । खानेपानी पाइप गाडिएको क्षेत्रमा राम्रोसँग अध्ययन समेत नगरी ब्लक छापेपछि भाँसिएको महानगरपालिका स्रोतले जनाएको छ ।