काठमाडौं, ९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा शैक्षिक व्यापारी उमेश श्रेष्ठलाई नियुक्त गरेपछि चौतर्फी विरोध भएको छ । सत्तारुढ गठबन्धनकै नेता कार्यकर्ताले श्रेष्ठलाई नियुक्ती गरेको विरोधमा अभिव्यक्ति दिएका छन् ।
देउवाले आजै लिटिल एन्जल्स स्कुलका मालिक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए ।
‘न विज्ञता, न योगदान ,न त व्यवस्था प्रतिको समर्पण तर पनि सदैव विषेश र उचित किसिमको अवसर किन यस्तै यस्तै किसिमका मानिसलाई प्राप्त हुन्छ ? जनताको व्यवस्था, हाम्रो लोकतान्त्रिक गणतन्त्र आएपछि पनि यी यस्तै प्रवृत्ति किन र कसरी मौलाईरहेका छन् गम्भीर समिक्षा गर्नु जरुरी छ । गलत पात्र र प्रवृति विरुद्ध सधैव विरोध गरौँ,’ नेकपा एमाले माधव समुहका विद्यार्थी नेता सुदेश पराजुली भन्छन्,‘ सहि राज्य व्यवस्थामा गलत पात्रलाई छनौट हो गर्नु शेर ब.देउवाको गलत कार्य हो ।’
सत्तारुढ दल सम्बद्ध नेता कार्यकर्ताले भने उनको नियुक्तीको समर्थन गरेका छन् । नेपाली कांग्रेसका सांसद तथा डलर अर्बपति विनोद चौधरीले श्रेष्ठलाई बधाई दिँदै ‘कोरोना कालमा श्रेष्ठको उपस्थितिले दूरगामी प्रभाव पार्न सकोस भन्ने शुभकामना दिएका छन् ।
पूर्व सचिव शारदा प्रसाद त्रितालले मन्त्री श्रेष्ठको नियुक्तलाई संकेत गर्दै ‘रकमको करामत भन्दै नेपालको राजनीतिमा पैसाको भूमिका प्रभावकारी हुने’ आरोप लगाएका छन् ।
स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका उनी मेडिकल शिक्षाका व्यापारी हुन् । उनले दर्जनौँ अस्पतालमा लगानी गरेको स्रोतले बतायो । श्रेष्ठले राजधानीको जनमैत्री अस्पतालबाट सञ्चालन हुने नर्सिङ संकाय समेत खरिद गरेको स्रोतले बतायो ।