काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मङ्सिर ४ मा हुने निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताएका छन् । उनले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेकाले आफूले दोस्रो पुस्तालाई समर्थन गर्ने बताए ।
उनले अहिले देशले साच्चै नै परिवर्तन खोजेको उल्लेख गर्दै अब नयाँ पुस्तालाई उम्मेदवार बनाउनु र जिताउनु नै आफ्नो मुख्य जिम्मेवारी हुने उल्लेख गरे । सधैँ हामी मात्रै नेतृत्वमा जानुपर्छ र अरुले गर्नै सक्दैनन् भन्ने मनोविज्ञान त्याग्नुपर्ने बेला आएकाले सबैले यसतर्फ ध्यान दिनुपर्ने बेला आएको उनको भनाइ थियो । राजनीति लहड, रहर र दबाब मात्रैले नचल्ने भन्दै उनले दोस्रो पुस्ता मात्रै हैन अहिले नाति पुस्तासमेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेको उल्लेख गरे ।
सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आगामी निर्वाचनका सम्भावित उम्मेदवारका बारेमा चर्चा परिचर्चा पनि सुरु भइसकेको उनले उल्लेख गरेका छन् । उनले नेकपा (एमाले)लाई विजयी गराउन लागिपर्ने सन्देशमा भनेका छन् ।