“पितृसत्तात्मक सोच र रुढिवादी परम्परासँग जोडिएको छ, टीनएज प्रेगनेन्सीको सवाल”

- दिपा प्रजापती  

अनुः फूलमती

भारतको स्वास्थ्य मन्त्रालयद्वारा प्रकाशित ‘परिवार योजना भिजन २०३०’ को प्रतिवेदनअनुसार भारतका केही क्षेत्रमा १८ वर्ष मुनिका केटीहरूमा गर्भधारणको घटना निकै तीव्र गतिमा बढिरहेको छ । भारतको प्रजनन दर स्थिर हुँदै गएको देखिए पनि किशोरावस्थामा गर्भावस्थाको विषय सरकारका सामु ठूलो चुनौतीको रूपमा देखा परेको छ । यस रिपोर्टका अनुसार बिहार, बंगाल, महाराष्ट्र, आन्ध्र प्रदेश, त्रिपुरा, झारखण्ड जस्ता राज्यमा सबैभन्दा बढी किशोरी गर्भावस्थाका घटनाहरू भेटिएका छन् ।

किशोरावस्थामा गर्भपतन हुनुका प्रमुख कारणहरूमा बालविवाह, यौन शिक्षाको अभाव, यौन स्वास्थ्य र प्रजनन प्रक्रियाबारे जानकारी नहुनु, सानै उमेरमा विवाह गर्ने दबाब, यौन हिंसा, गर्भनिरोधक औषधिको अभाव, शिक्षाको अभाव वा शिक्षा नहुनु र महिलाहरूलाई बच्चा जन्माउने मेसिनको रूपमा प्रयोग गरिनु आदि समावेश छन् ।

बालविवाह एउटा प्रमुख कारण

बालविवाह किशोरावस्थामा गर्भधारणको सबैभन्दा ठूलो कारण हो । हाम्रो समाजमा केटीहरुलाई बोझको रुपमा हेरिन्छ । हाम्रो पितृसत्तात्मक समाजमा महिलालाई दाइजोको स्रोतको रूपमा हेर्ने जस्ता कुप्रथाहरूले बालविवाहलाई प्रोत्साहन गर्छ । अक्सर आमाबुवाले केटीहरूलाई चाँडै विवाह गरिदिन्छन् । किनभने छोरीको उमेर धेरै भयो भने दाइजो पनि धेरै दिनुपर्छ भन्ने उनीहरुलाई लाग्छ । जबकि हाम्रो कानुन अनुसार कुनै पनि केटीको १८ वर्ष नपुग्दै विवाह गर्न पाइँदैन ।
यही वर्ष बालिकाको विवाहको उमेर १८ बाट २१ वर्ष पु¥याउन संसदमा विधेयक पेस भएको थियो । तर भारतको वास्तविकता फरक छ ।

वेबसाइट ओआरएफमा प्रकाशित एक रिपोर्ट अनुसार, संयुक्त राष्ट्रको तथ्याङ्कले देखाउँछ कि भारतका ४४% भन्दा बढी जिल्लाहरूमा केटीहरूको १८ वर्षको उमेर नपुग्दै विवाह गरिदिने विषय धेरै सामान्य छ । बिहार, पश्चिम बङ्गाल, झारखण्ड, असम जस्ता राज्य बालविवाहको मामिलामा शीर्ष स्थानमा छन् । त्यसपछि उत्तर प्रदेश, राजस्थान, महाराष्ट्र आउँछ । सानै उमेरमा बिहे गरेपछि यी युवतीहरु गर्भवती हुन्छन् । ल्ँज्क्–४को तथ्याङ्कले सन् १९९२–९३ मा ५४.२ प्रतिशत केटीको १८ वर्षको उमेर नपुग्दै विवाह गरेको देखाएको छ ।

महिलालाई आफ्नो शरीरमा अधिकार नहुनु

भारतमा परिवार नियोजन कार्यक्रममा पुरुषको सहभागिता निकै कम छ । ग्रामीण क्षेत्रमा पनि गर्भनिरोधक औषधि र अन्य यन्त्रहरूबारे चेतनाको कमी छ । गर्भनिरोधकको कुरा गर्दा हाम्रो समाजले यसलाई महिलाको जिम्मेवारी ठान्दछ । गर्भनिरोधक साधनको प्रयोग नगर्नुको मुख्य कारण भारतीय पितृसत्तात्मक समाजको मान्यता हो कि महिलाले कहिले पनि आनन्दका लागि यौनसम्पर्क गर्न सक्दैनन् । महिला सन्तान जन्माउनका लागि मात्रै सेक्स गर्छन् । यौनसम्पर्कको आनन्द पुरुषको लागि मात्रै बनेको हो र यदि महिलाले त्यसको चाह गर्छन् भने ती ‘खराब’ महिला हुन् ।

गर्भनिरोधक साधनहरूको प्रयोग बारे जब कुरा आउँछ, त्यो पूर्णतया पुरुषमा निर्भर गर्दछ, उसले बच्चा जन्माउन चाहन्छ या चाहँदैन । पितृसत्तात्मक समाजका अनुसार सन्तान जन्माउने वा नजनाउने भन्ने निर्णय प्रायः पुरुषमा नै निर्भर हुन्छ । जसका कारण धेरैजसो महिलाले आफूलाई सन्तान चाहिएको वा नपर्ने भन्ने बारेमा सोच्दैनन्, न त कुनै ठोस निर्णय लिन सक्छन् । महिलालाई आफ्नो शरीरसँग सम्बन्धित यो महत्त्वपूर्ण मुद्दामा कुनै अधिकार छैन । सानै उमेरमा आमा बन्ने केटीहरूलाई यी निर्णयहरू लिन झनै गाह्रो हुन्छ । गैरसरकारी संस्था जनसङ्ख्या काउन्सिलले गरेको अध्ययनले सर्वेक्षणमा सहभागी १८–२२ वर्षका केटीहरूमध्ये ५० प्रतिशतले आफ्नो पहिलो गर्भावस्था स्थगित गर्न चाहेको देखाएको छ अर्थात् उनीहरू आफ्नो गर्भावस्थाको समयसँग सन्तुष्ट छैनन् । तर उनीहरूसँग गर्भनिरोधक प्रयोग गर्ने सुविधा थिएन ।

यौन शिक्षाको अभाव

हालै केरला उच्च अदालतले ३० हप्ताको गर्भवती नाबालिग केटीलाई नैतिक आधारमा गर्भपतन गर्न अनुमति दिएको एउटा मुद्दा आएको थियो । अदालतले यति कम उमेरमा आमा बन्नुले बच्चाको मानसिक र शारीरिक स्वास्थ्यमा असर पर्ने बताएको छ । नाबालिगका साथ–साथै ती बालिका सर्वाइभर पनि थिइन् । केरला उच्च अदालतले यस विषयमा सुनुवाइ गर्दै अश्लील सामग्री मानिसहरूलाई सजिलै उपलब्ध हुने भएकाले बलात्कारका घटनामा उल्लेख्य वृद्धि भएको टिप्पणी गरेको छ । यस निर्णयको अर्को महत्वपूर्ण पक्ष भनेको हाम्रा विद्यालयमा दिइने यौन शिक्षालाई सम्बन्धित निकायले पुनर्विचार गर्नुपर्ने बेला आएको भन्दै अदालतले विद्यालयमा यौन शिक्षा दिनुपर्नेमा जोड दियो ।

इन्टरनेटमा पोर्नोग्राफीको सहज उपलब्धताले युवाहरूको किशोर दिमागलाई बहकाउन र गलत जानकारी दिन सक्छ । राज्यको शैक्षिक संयन्त्र साना बालबालिकालाई यौनसम्बन्धको असरबारे अत्यावश्यक जानकारी दिनमा पछाडि परेको छ । तर हाम्रो देश अझै पनि यौन शिक्षाको सन्दर्भमा रूढीवादी सोचले ग्रसित छ । भारतीय अभिभावकहरू यी विषयहरूको बारेमा कहिल्यै कुरा गर्दैनन् । उनीहरु बिहेपछि मात्र सेक्स गर्नुपर्छ भन्ने सोच्छन् । यि विषयमा कुरा गर्ने हो भने छोराछोरीले बिहेअघि नै यौनसम्पर्क राख्छन्, त्यसपछि कसैले बिहे गर्दैनन् र केटीहरुले बिहेअघि नै यौनसम्पर्क राखे भने उनीहरुको ‘पवित्रता’ जान्छ भन्ने सोचाई उनीहरुमा देखिन्छ ।

महाराष्ट्रले विद्यालयको पाठ्यक्रममा यौन शिक्षाका विषयहरू अध्ययन गर्न राज्यमा यौन शिक्षा लागू गर्नुपर्ने आवश्यकता औंल्याउदै एक प्रस्ताव पारित गरेको एक दशकभन्दा बढी भइसकेको छ । त्यसपछि धेरै बालबालिकाका अभिभावकहरूले धर्ना दिए, किनभने उनीहरूका अनुसार यौन शिक्षाले युवाहरूलाई भ्रष्ट बनाउँछ । उनीहरुका छोराछोरी अझै यो शिक्षाका लागि तयार छैनन् । यसले परम्परागत भारतीय मूल्यमान्यतालाई ध्वस्त पार्छ र समाज भ्रष्ट हुन्छ र यसले समाजमा गैरजिम्मेवारीपूर्ण व्यवहार बढाउँछ । यौन शिक्षा भारतमा लादिएको पश्चिमी सभ्यता हो । अन्ततः यो प्रस्ताव कार्यान्वयन हुन सकेन ।

किशोरावस्थाको गर्भावस्था रोक्न शिक्षाले पनि महत्त्वपूर्ण भूमिका खेल्छ । प्लान इन्टरनेशनलको प्रतिवेदन अनुसार उच्च शिक्षा हासिल गरेका केटीहरूको तुलनामा सबैभन्दा कम शिक्षा भएका केटीहरूको किशोरावस्थामा गर्भधारण हुने सम्भावना पाँच गुणा बढी हुन्छ । भारतमा विद्यालयको पाठ्यक्रममा समावेश गरिएको यौन शिक्षाको दायरा निकै सीमित छ । यसले यौन र प्रजनन स्वास्थ्यसँग सम्बन्धित महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गरेको देखिँदैन । यसबारे हाम्रा विद्यालयमा मौनता र लाजको वातावरण रहेको देखिन्छ ।

किशोरावस्था मा गर्भावस्था को प्रभाव

किशोरावस्थामा गर्भावस्था र प्रसव समस्या १५ देखि १९ वर्ष उमेरका केटीहरूको मृत्युको प्रमुख कारण हो । किशोरावस्थामा बच्चा जन्माउने अधिकांश केटीहरू शारीरिक रूपमा धेरै कमजोर हुन्छन् र उनीहरूले पछि एनिमियाको सामना गर्नुपर्ने हुन्छ । अधिकांश किशोरावस्थामा हुने गर्भावस्था अनियोजित हुन्छन् । यस्तो गर्भावस्थाले असुरक्षित गर्भपतनको सम्भावना पनि बढाउँछ । किशोरावस्थामा गर्भावस्थाका कारण मातृ कुपोषणको सम्भावना बढ्दै जाँदा बालबालिका पनि कुपोषित भएर जन्मन्छन् । उचित पोषणको अभावमा बच्चाको शारीरिक र मानसिक विकास हुन सक्दैन । तथ्याङ्कले देखाउँछ, भारतमा बाल कुपोषणको सिधा सम्बन्ध टीनएज प्रेगनेन्सीसंग छ ।