
काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले गठबन्धनकै नयाँ सरकार गठनका लागि बहुमत जुटाउन मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
माओवादी केन्द्रबाट निर्वाचित भएका गौतमले सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्याउनका लागि आफ्नो तटस्थ भूमिका त्यागेका हुन् । उनले राजीनामा दिएपछि उनको समेत समर्थन लिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।
सभामुखबाट राजीनामा नदिने अडानमा रहेका गौतम सोमबार आफूलाई मुख्यमन्त्री बनाए राजीनामा दिन सहमत भएका थिए । तर गठबन्धन दलले मुख्यमन्त्रीमा कांग्रेस नेता थापाको नाम अघि सारेपछि उनी प्रधानमन्त्री रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालको पहलमा राजीनामा गर्न बाध्य भएका हुन् ।
