माओवादीले भदौदेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रले आउँदो भदौ महिनादेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने भएको छ ।

बुधबार सुरु गरिएकोे पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै भदौ, असोज र कात्तिक महिनामा ‘जनतासँग पार्टी अभियान’ चलाउने जानकारी गराएका छन् ।

यस अभियानमा वार्षिक कार्यतालिका बनाउने, सबै समिति डिजिटल बनाउने, सचिवहरुले प्रदेशको जिम्मेवारी लिने, मंसिरमा विधान सम्मेलन गर्ने र सबै केन्द्रीय सदस्य वडा तहमा पठाउने माओवादीको योजना छ । अभियानकै क्रममा देशभरका सबै ६ हजार ७४३ वटै वडा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो समयमा विचार मिल्नेसँग एकता गर्ने, कार्यकर्ता सामूहिक कोष बनाउने, एकतामा संख्या भन्दा विचारमा जोड दिने पनि अध्यक्ष प्रचण्डले बताएका छन् । माओवादीले तीनमहिने अभियान वडालाई आधार बनाएर प्रशिक्षण सञ्चालन गर्ने तथा सरकार र पार्टीप्रतिका गुनासो र सुझाव संकलन गर्ने जनाएको छ। उनले माओवादी केन्द्रले जितेका १२२ वटा स्थानीय तहलाई नमुना बनाउने पनि योजना सुनाएका छन् ।

सिफारिस