हिरासतमा नराखी अधिवक्ता भगवती पाण्डेविरुद्ध मुद्धा चल्ने

दियो पोस्ट  

काठमाडौं । काठमाडौं जिल्ला अदालतले अधिवक्ता भगवती पाण्डे ‘ शीतल’ माथि अनुसन्धान गर्न उनलाई प्रहरी हिरासतमा राख्न नपर्ने भनिएकाे छ ।

पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ, लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।

उनको अभिव्यक्तिविरूद्ध सो समुदायका मानिसहरूले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरी परेपछि उनलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले साउन १२ गते जिल्ला अदालतबाट पुर्जी लिएको थियो।

जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको पाँच दिनपछि पाण्डे बुधबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौंमा आफै उपस्थित भएकी थिइन् ।

जातीय विभेदसम्बन्धी कसुरमा बुधबार पक्राउ परेकी पाण्डेलाई हिजै म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो।
तर उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै अदालतले म्याद थप नगरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) कुमुध ढुंगेलले जानकारी दिए।

‘आरोपीले आफ्नो अभिव्यक्तिबारे माफी मागिसकेको र प्रमाण नष्ट गर्न सक्ने खतरा पनि नभएका कारण देखाउँदै अदालतबाट म्याद थप भएन, पाण्डेविरूद्ध जाहेरी अनुसारकै मुद्दा भने चल्ने छ। हिरासतमा नराख्ने भनिएको हो । आरोपी बाहिरै बसेर मुद्दा लड्नुहुन्छ,’ ढुंगेलले जानकारी दिए।