विद्युतीय हाजिरी मेसिन नै बोकेर हिड्छन् त्रिविका प्राध्यापक

'पुलिसलाई ल कारबाही गर भन्दा पुलिसले निवेदन नलिने'

दियो पोस्ट  

काठमाडौं । दैनिक आउनुपर्ने भएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिनसमेत राख्न नदिएको खुलासा भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरूले नै बोकेर हिँडेको खुलाएका हुन् ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा उनले विद्युतीय मेसिन बोकेर हिँड्नेहरूलाई कारबाही गर्न दिएको निवेदन प्रहरीले समेत बुझ्न नमानेको गुनासो गरे ।

उपकुलपति बास्कोटाले भने, ‘हाम्रा त शिक्षकहरू पनि यस्ता भएकी २२ गते पुगेपछि एकाउन्टेनले पनि हाजिर गर्न आउनुस् भन्ने चलन । आएर हाजिर गर्‍यो, तलब बुझ्ने चलन । यसलाई निरुत्साहित गर्न डिजिटल हाजिरी राखिदिएको शिक्षकहरूले बोकेर हिँडे । पुलिसलाई ल कारबाही गर भन्दा पुलिसले निवेदन नलिने ।’

उपकुलपति बास्कोटाले उनीहरूलाई कारबाहीका लागि काठमाडौंको कुनै एक होटलमा आफूहरूले गरेको मिटिङको माइन्युट समेत संगठनको आवरणमा केही मानिसहरूले लुटेर लगेको र तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले बुझेकोमा असन्तुष्टि व्यक्त गरे ।

उपकुलपति बास्कोटाले त्रिविका कतिपय विषयका विद्यार्थीभन्दा शिक्षक बढी भएको स्वीकार गर्दै अब उनीहरूलाई आवश्यकताको आधारमा अध्यापन कार्यमा खटाउने गरी विद्युतीय प्रणालीको व्यवस्था गरिएको बताए ।