
काठमाडौं । नेपालमा गाई तथा भैँसी जस्ता जनावरमाथि यतिबेला लम्पी स्किन नामक रोगको महामारी छ । पछिल्लो तथ्यांक अनुसार एक महिनामै ७१ जिल्लामा यो रोगको महामारी फैलिएको छ । लाखौँ गाईभैँसी संक्रमित मात्रै भएका छैनन् हजारौँको मृत्यु भएको छ । यो महामारीको कारण सवा एक अर्ब रुपैयाँ बराबर क्षति हुने अनुमानहरु सार्वजनिक भइरहेको छ । तर, पशुधनको सुरक्षणको समेत दायीत्व बोकेको निक्षेप तथा कर्जा सुरक्षण कोष भने बेखबर छ । निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ को उद्देश्यमा स्पष्ट लेखिएको छ,‘कर्जा सुरक्षण भन्नदाले कुनै पनि बैंक वा वित्तीय संस्था वा वित्तीय मध्यस्थताको कार्य गर्ने संस्थाले प्रदान गरेको कर्जा सुरक्षण कार्य सम्झनु पर्छ र सो शब्दले पशुधन सुरक्षण समेतलाई जनाउँछ ।’

तर, यतिका महामारी भैरहँदा यो कोष भने आफ्नै ऐनबारे बेखबर जस्तो छ । कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले पशुधन सुरक्षण गर्ने यति ठूलो दायीत्व बोकेको ंसंस्थाको जम्बो टोली लिएर विदेश भ्रमणतिर मस्त छन् । घिमिरेसहित कोषका कर्मचारी अच्युत पन्त र विनोद पन्त आजै चीन हुँदै मंगोलिया उडेका छन् । भोली अध्यक्ष तथा अर्थमन्त्रालयका सचिव राम प्रसाद घिमिरेको टोली पनि मंगोलिया उड्दैछन् । २२ गतेदेखि एक सेमिनारमा भाग लिन भनिएपनि कोषका उच्च अधिकारी घुमघामकै लागि विदेश उडेको विषयमा कोष भित्रै विवाद छ ।

कोषका प्रमुख कार्यकारी अधिकृत घिमिरेले कर्मचारीलाई मनाउन विभिन्न समुह बनाउँदै विदेश लाने गरेका छन् । कतिपयलाई नेपाल भित्रै लाखौँ रुपैयाँ दिएर मेडिटेशन गराउने र रिसोर्टमा खुवाएर आफ्नो मान्छे बनाउन क्रियाशिल छन् । त्यसैले यतिबेला कोषको प्रशासनिक खर्च डेढ सय प्रतिशतले वृद्धि भएको कोषकै एक कर्मचारी बताउँछन् । त्यही कारण यतिबेला कोष भित्र आन्दोलनको शुरुवात भएको छ ।