३० करोड माग गर्दै दुर्गा प्रसाईंलाई धम्की दिने युवाविरुद्ध मुद्दा दर्ता

फिरौतीका लागि नागरिकता कीर्ते गरेर सीम खरिद

दियो पोस्ट  

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्क्याउँदै ३० करोड रुपैयाँ मागेको आरोपमा पक्राउ परेका युवाविरुद्ध मुद्दा दर्ता भएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले असार २६ गते महाराजगञ्जस्थित कतार भिसा सेन्टर अगाडिबाट पक्राउ गरेका खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङविरुद्ध मुद्दा दर्ता भएको हो। उनलाई दुई वटा कसुरमा मुद्दा दर्ता गरिएको छ। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा अपरहण सम्बन्धीको कसुर उद्योग र लिखत सम्बन्धीको कसुरमा मुद्दा दर्ता गरिएको हो।

प्रसाईंलाई म्यासेज तथा फोन गर्दै उनले ३० करोड रुपैयाँ फिरौती मागेकाले अपहरणको कसुरमा र नागरिकता कीर्ते गरेको पाइएकाले लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो।

उनले आफ्नो नागरिकताको अक्षर खुर्केर मेटेको र त्यसपछि आफैंले नागरिकता सच्याएको पाइएको छ। सच्याएको उक्त नागरिकताबाट सीमकार्ड निकालेर फिरौतीका लागि प्रयोग गरिएको खुलेको छ।

उनले मारिनुपर्ने व्यक्तिको दोस्रो नम्बरमा प्रसाईंको नाम रहेको भन्दै सुरुमा ३० करोड रुपैयाँ माग गरेका थिए। उनले फोनमा प्रसाईंलाई ‘३० करोड ठिक पार्नु नत्र कात्रो तयार पार्नु’ भन्दै धम्की समेत दिएका थिए।

उनी ८ वर्ष साउदी अरबमा बसेर आएको पाइएको छ। रकम अभाव भएपछि प्रसाईंसँग पैसा हुने भन्दै धम्क्याएर रकम उठाउने उद्देश्यले धम्क्याएको बताएको प्रहरीले जनाएको छ। उनी महाराजगञ्जस्थित कतार भिसा सेन्टर अगाडिबाट गत असार २६ मा पक्राउ परेका थिए ।