
रुपन्देही । सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा सडकको सिद्धबाबामा सडकमाथिबाट ढुङ्गा खसेर जीपमा लाग्दा ३ जना घाइते भएका छन् ।
जिल्लाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा नजिकै हेडबक्सनिर गुडिरहेको जीपमाथि ढुङ्गा खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको हो ।
बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जीपमा माथिबाट एक्कासि ढुङ्गा खस्दा चालकसहित ३ जना घाइते भएका छन्।
उनीहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको थियो । अहिले उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिए ।
पहिरोका कारण केही बेर राजमागको बुटवल–पाल्पा सडक अवरुद्ध बने पनि अहिले भने पुनःसञ्चालन भइसकेको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

