काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीका एकै घरका दाजुभाइको पोखरीमा डुबेर मृत्यु भएको छ । उक्त गाउँका रामअवतार यादवका छोरा सात वर्षीय साजन र पाँच वर्षीय राजन घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । यादव दाजुभाइको मृत्युपछि बगही गाउँ शोकमा डुबेका छन् ।
खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे डुबेको अवस्थामा शव फेला परेको थियो । माटो निकालेर पानी जमेको पोखरीमा दाजुभाइको शव फेला परेको ओलीले बताए ।
मङ्गलबारदेखि बेलुका हराएका दाजुभाइ घर नजिकैको पोखरीमा मृतावस्थामा फेला परेपछि तौलिहवा जिल्ला अस्पतालमा शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।