पञ्चायतकालीन नेता जीतसिंह खड्काको स्मृतिग्रन्थ सार्वजनिक

दियो पोस्ट  

काठमाडौं । पूर्वमन्त्री एवं नुवाकोटका पञ्चायतकालीन नेता जीतसिंह खड्काको स्मृतिमा लेखिएको पुस्तक ‘सम्झनामा जीतसिंह खड्का’ शनिबार काठमाडौंमा सार्वजनिक भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष एवं सांसद पशुपतिशमशेर राणाले पुस्तक विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै सांसद राणाले स्व. खड्का निष्ठावान नेता भएको बताए । कार्यक्रममा सांसद हितबहादुर तामाङ, बद्री मैनाली, रमेशकुमार महत, नेता श्यामकुमार केसीलगायतले स्व. खड्काको चर्चा गरेका थिए ।

स्व. खड्कामाथि लेखिएको उक्त पुस्तकमा राष्ट्रकवि माधव घिमिरे, राजेश्वर देवकोटा, मोहनविक्रमसिंह, स्व. पोष्टबहादुर बोगटी, अर्जुननरसिंह केसी, स्व. गणेश पण्डितलगायत ५७ जनाले उनको व्यक्तित्वमाथि चर्चा गरेका छन् ।

जीतसिंह खड्काकी धर्मपत्नी सिता थापा खड्काले प्रकाशन गरेको उक्त पुस्तक लेखक नारायण नेपाल र बलराम फुयालले सम्पादन गरेका छन् ।