संसद्को अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच छलफल

दियो पोस्ट  

काठमाडौं । प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसद् अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच सदनको गतिरोध अन्त्य गर्ने प्रयासमा आज छलफल भएको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको हो ।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरुद्ध पार्दै आएको छ । तर आजको बैठकमा सत्ता गठबन्धनले न्यायिक छानबिन समिति गठनको आवश्यकता नभएको निष्कर्ष निकालिसकेको छ । साथै बैठकमा सर्वोच्चले बालुवाटारको ललिता निवास जग्गा प्रकरणका सन्दर्भमा पनि छलफल भएको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका साथै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।