काठमाडौं । नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने ‘गुँला पर्व’आजदेखि शुरु भएको छ ।
प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म सञ्चालन हुने यस पर्वको अवसरमा स्वयम्भूमा आजदेखि मेला लागेको छ । पर्वको अवसरमा विशेष गरी नौँ बाजा बजाउने प्रचलन रहेको छ । ‘गुँला पर्व’ विशेष गरी बौद्धमार्गीको पर्व भए पनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गर्दछन् ।
वर्षभर दिवंगत भएकाको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ।
पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । तर पछिल्लो समय विभिन्न नेवारी समुदायले बजाउने परम्परागत धाःबाजा, नेकुबाजा, दमोखीं तथा अन्य सांस्कृतिक गाजाबाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन छ ।