काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेश स्थापना भएको छ । प्रतिनिधि सभा सदस्य माननिय लेखनाथ दाहाल (राजन)ले आज बिहीबार बेशको उद्घाटन गरेका हुन् ।
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीबाट करिब ४० किलोमिटर उत्तरतर्फ स्थापना भएको सो बेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् उद्वारका आवश्यक सामाग्रीसहितको टोली खटिएको छ ।
काठमाडौंदेखि करिब २ सय १० किलोमिटर बर्दिवास सम्मको सिन्धुली बिपी हाईवेमा हुनसक्ने अन्य घटनाहरुको समेत मध्यनजर राख्दै सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापना बेश स्थापना भएको हो ।
सशस्त्र प्रहरी बल नेपालले यसअघि मुलघाट धनकुटा, निजगढ बारा, आदमघाट धादिङ, बेनी म्याग्दी, भालुवाङ्ग दाङ्ग, चिप्ले सुर्खेत र अमरगढी डडेलधुरा गरी ७ ठाउँमा विपद् व्यवस्थापन बेश स्थापना गरिसकेको छ ।
मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले सात वटै बाहिनी मुख्यालयहरुमा एक/एक प्लाटुन, नं. ९ पशुपतिनाथ बाहिनी काठमाडौंमा एक प्लाटुन, १० वटा शिक्षालयमा एकरएक प्लाटुन, सम्पूर्ण गणहरुमा एक/एक प्लाटुन तथा गुल्म र अन्य युनिटहरुमा एकरएक सेक्सन आवश्यक सामाग्री सहित तालिम प्राप्त विपद् उद्धार टोली तयारी हालतमा राखेको हाे ।
यसैगरी रेस्क्यु टावर फेवाताल कास्की र रेस्क्यु टावर नारायणी नदि किनार चितवनमा समेत विपद् उद्धार टोली परिचालित छ ।