काठमाडौं । साउन ३१ गते प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष उपेन्द्र यादवले काठमाडौंमै भएर पनि सहभागिता जनाएनन् । जसपाका तर्फबाट प्रवक्ता मनीष, सुमन र अर्का नेता राजेन्द्र श्रेष्ठलाई बैैठकमा सहभागी गराइएको थियो ।
त्यसैको दुई दिनअघि साउन २९ गते प्रधानमन्त्री दाहालले नै बोलाएको सर्वदलीय बैठकमा पनि यादव सहभागी भएनन् । सो बैठकमा उनले प्रवक्ता सुमनलाई पठाए । तर त्यतिबेला भने उनी जसपाको बारा जिल्ला कार्यसमितिको आन्तरिक बैठकमा सहभागी हुन त्यतै गएका थिए । जबकिा त्यो बैठकमा केन्द्रीय अध्यक्षको उपस्थिति आवश्यक थिएन । सर्वदलीय बैठक छल्न यादव बारा पुगेको जसपाकै केही नेताले अनुमान गरेका छन् । प्रवक्ता सुमनले भने यादवको बचाउ गर्दै भने, साउन २९ गते अध्यक्षज्यू बारा गएकाले सर्वदलीय बैठकमा सहभागी हुन सकेनन् । साउन ३१ गते भने काठमाडौं भए पनि उनी निकै व्यस्त थिए । ’
यो एउटा उदाहरण मात्र हो, पछिल्लो समय दाहाल –यादव सम्बन्ध ‘दरार ’को स्थितिमा पुगेको जसपाकै नेताहरुले स्विकारेका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्षज्यूबीच सम्बन्ध त राम्र्रै थियो तर अहिले त्यो सम्बन्ध ग्रहण लगाउने प्रयास भइरहेको छ,’ प्रवक्ता सुमनले भने,’ पछिल्लो समय सरकारको व्यवहार हेर्दा शंका गर्ने ठाउँ धेरै छन् ।
गौर हत्याकाण्ड ब्युँझाउने विषयमा गृह मन्त्रालयले पीडित भन्दै आन्दोलनमा उत्रिएकाहरुसँग सहमति गरेपछि सरकारसँग यादव झस्किएका छन् । त्यसमा पनि प्रधानमन्त्री दाहालले आफ्नै पार्टीको भागमा परेको संघीय मामिला मन्त्रालयबाट माओवादी केन्द्रका नेता अमनलाल मोदीलाई राजीनामा गर्न लगाए उनको ठाउँमा जनमत पार्टीलाई जिम्मेवारी दिएर सरकारमा सहभागी गराएपछि यादव भलनै चिढिएका छन् । सरकारमा जनमत पार्टीको प्रवेशलाई यादवले पटक्कै मन पराएका छैनन् । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतबीचको सम्बन्धमा दरार आएको छ ।
सम्तरी २ बाट राउतले यादवलाई हराएका थिए । यादवलाई सत्तारुढ सबै दलहरुले सहयोग गरे पनि राउत भने विरुद्धमा उभिए, जबकि राउतको पार्टी जनमत सत्तारुढकै घटकका रुपमा थियो । एउटै मोर्चामा बसेर पनि राउतले यादवलाई सहयोग गरेनन् । त्यसकारण अहिले यादव र राउतबीच पनि ‘पानी बाराबार’को अवस्था छ । प्रधानमन्त्री दाहालले अहिले जसपाको विकल्पमा जनमत पार्टीलाई अगाडि सारेका छन् । जसपाका एक नेताले भने, ‘प्रधानमन्त्रीज्यूले बिग्रेको सम्बन्ध सुधारको प्रयास गर्नेछन् भन्ने विश्वास गरेका थियौं तर उल्टै हाम्रो विकाल्पमा जनमतलाई अगाडि सार्नुभयो, जुन हामीले कल्पनै गरेका थिएनौं ।
आजको नागरिक दैनिक पत्रिकामा खबर छ ।