काठमाडौं । भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएको छ । प्याजको उत्पादनमा आएको कमीसँगै मूल्यवृद्धि बढेपछि निर्यात कर लगाउने भएको हो।
भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले २ भदौदेखि १५ पुससम्म लागू हुने गरी प्याज निर्यातमा महसुल बढाएको हो । भारतको वित्त मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाएको छ ।
कर लगाएपछि निर्यातमा कमी आउने र आन्तरिक आपूर्तिमा सुधार भई मूल्यवृद्धि नियन्त्रण हुने मन्त्रालयको दाबी छ। विश्वमा भारतले सबैभन्दा धेरै प्याज निर्यात गर्दै आएको छ। निर्यात करले भारतीय प्याजमा निर्भर नेपाल सहितका मुलुकमा मूल्य बढ्ने अनुमान गरिएको हो ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा हाल प्याजको मूल्य प्रतिकिलो ६५ रुपैयाँ हाराहारीमा छ । यसअघि नेपाल सरकारले बजेटमार्फत प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइसकेको छ । भारतले लगाएको निर्यात कर र स्वदेशमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि करले नेपालमा प्याजको मूल्य उच्च दरमा बढ्ने अनुमान गरिएको छ।