पोल गाडेका डेढ दशकपछि पुग्यो बिजुली

विद्यार्थीलाई लेखपढ गर्न, रेडियो टेलिभिजन हेर्न र सुन्न तथा कम्युटर चलाउन सजिलो

दियो पोस्ट  

काठमाडौं । पूर्वी नवलपरासीको पहाडी हुप्सेकोट गाउँपालिका–४ रुम्सीमा विद्युत् पोल गाडेको १४ वर्षपछि बिजुली बालिएको छ । विद्युतीकरण गर्न १४ वर्षअघि त्यँहा ४४३ थान पोल गाडेर तार टाँगिएको थियो । विद्युत्को प्रतीक्षामा बसेको स्थानीले बिजुली बाल्न पाउँदा खुसी लागेको बताएका छन् ।

स्थानीय शमशेर आलेमगरले यतिका वर्षपछि बिजुली बाल्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । वडाध्यक्ष महेन्द्र पाण्डेले विकट क्षेत्रका १६५ घुरधुरीमा अहिले केन्द्रीय प्रसारणबाट विद्युतीकरण भएकाले स्थानीयको मुहारमा उज्यालो छाएको बताउनुभयो । बिजुली पुगेपछि अहिले धेरै सहज भएको वडा अध्यक्ष पाण्डेको भनाइ छ । स्थानीय मनमाया कानुङले अहिले घर घरमा बिजुली बल्दा दैनिक कामकाज निकै सहज र गाउँ नै उज्यालो भएको बताउनुभयो ।

केन्द्रीय विद्युतीकरणको विस्तार र सञ्चालनसँगै चारघरेमा ७० रुम्सीमा ६० रिताहाका ३५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । मोबाइल चार्ज गर्न, रेडियो सुन्न, विद्यार्थीलाई पढ्नसमेत सजिलो भएको छ । हुप्सेकोट माध्यमिक विद्यालयका प्रधानध्यापक बमबहादुर थारुमगरले अहिले कम्युटर कक्षा सञ्चालनदेखि विद्यालयका अन्य कामकाजमा समेत सहयोग पुगेको बताउनुभयो । हुप्सेकोट गाउँपालिका–४ का स्थानीय जीवबहादुर सिँजालीले ढिलै भए पनि गाउँमा बिजुली आउँदा सम्पत्ति नै भित्रियाए जस्तो भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

गाउँमा बिजुली पुगेपछि घरधन्दा गर्नेदेखि विद्यार्थी लेखपढ् गर्न, रेडियो, टेलिभिजन हेर्न र सुन्न तथा कम्युटर चलाउन सजिलो भएको छ । वर्षाैदेखि अन्धकार झेल्दै आइरहेका पहाडी भेगका जनता खुसी भएका हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पूर्णसिंह रानामगरले जानकारी दिनुभयो ।

आजको गोरखापत्रमा खबर छ ।