काठमाडौं । राष्ट्रिय परिचयपत्र निःशुल्क प्रदान गर्ने राज्यको नीति छ । कानून पनि राज्यले गल्ती गर्दैन भन्ने सिद्धान्तमा आधारित भएर बनाइन्छ । तर कर्मचारीको लापबाहीका कारण गलत विवरणसहित छापिएका राष्ट्रिय परिचयपत्र सच्याउन सेवाग्राहीले जरिवान तिर्नुपर्ने भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालै वितरण गर्दै गरेको राष्ट्रिय परिचयपत्रमा निकै त्रुटि पाइएको छ । त्यो त्रुटि सेवाग्राहीले दिएको सूचनाका आधारमा नभई सरकारी कर्मचारीले गलत प्रविष्टि गरेका कारण भए पनि त्यसमा सच्याउँदा सेवाग्राहीले पाँच सय रुपैयाँ जरिवाना तिर्नु परेको छ ।
भरतपुर महानगरपालिका–२७ का २४ वर्षीया किसान बरालीको परिचयपत्रमा श्रीमती र आमाको नाम बिग्रिएको पाइएपछि सच्याउन जरिवान तिर्नुपरेको गुनासो गर्नुभयो । ”मैले २०७६ सालमा राष्ट्रिय परिचयपत्रको लागि जिल्ला प्रशासन कार्यालय चितवनै आएर फर्म भरेको हुँ, फर्म भर्दा मैले सबै ठिकै भरको थिएँ तर कार्ड छापिएर आउँदा श्रीमती र आमाको नाम बिग्रिएर आएछ” उहाँले भन्नुभयो, ”श्रीमतीको अमिशा बराली हुनुपर्नेमा अमिश बराकी भएको छ भने आमाको नाम शोभा हुनुपर्नेमा शोमा भएको छ । यो कर्मचारीले प्रविष्टि गर्दा बिगारेको हो । ”आफूले गल्ती गर्दा पनि परिचयपत्र सच्याउन पाँच सय रुपैयाँ जरिवाना तिर्नुपरेको उहाँले जनाउनुभयो ।
किसान जस्तै परिचयपत्र बिग्रने धेरै छन् तर सङ्ख्या यकिन छैन । जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत आनन्दवंश न्यौपाने चितवनमा अहिलेसम्म बाँडिएका तीन हजार आठ सय परिचयपत्रमध्ये १२ जनाले बिग्रिएको भन्दै निवेदन दिएको जानकारी दिनुभयो ।
आजको गोरखापत्रमा खबर छ ।