काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दालाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले अहिले विभिन्न भ्रष्टचारका काण्डको छानमिन र कारबाही प्रक्रिया अगाडि बढिरहेको छ ।
भ्रष्टचारका ती पुराना फाइल खोल्दा राजनीतिज्ञ, कर्मचारी वृत्तका साथै संलग्नमा त्रास नै छाइरहेको छ । एकपछि अर्को भ्रष्टाचार काण्डका फाइल खुल्न थालेपछि भागाभाग पनि चलिरहेको छ ।
झापाको ‘गिरीबन्धु टि–स्टेट’मा पनि नीतिगत भएको भ्रष्टाचार लामो समय देखि चल्दै आइरहेको छ । गिरीबन्धु टि–स्टेटको फाइल खुल्न भए सबै भन्दा बढी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमा रहेको कुरा उनका पछिल्ला अभिव्यक्तिबाट पनि अनुमान गर्न सकिन्छ । त्यसो त, प्रधानमन्त्री दाहाल स्वयंमले गिरीबन्धु टि- स्टेटमा भएको भ्रष्टाचारको फाइल खोल्न संकेत यसअघि नै गरिसकेकाले पनि ओलिमा त्रास छाएको हुन सक्छ । किनभने ओली प्रधानमन्त्री हुँदा गिरीबन्धु टि–स्टेट जग्गा काण्ड भएको हो । यति मात्र होइन गोकर्ण रिसोर्ट, ओम्नीलगायत पनि ओली प्रधानमन्त्री भएकै बेलमा भएको हो ।
गिरीबन्धु टि–स्टेटमा भएको भ्रष्टाचारको फाइल खुल्ने संकेत पाएपछि ओलीले सो फाइल खोल्न आवश्यक नभएको टिप्पणी यस अघि नै गरेका छन् । बिहीबार भक्तपुरमा नेपाल भुतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारले आफ्नो संलग्नता हुँदै नभएको गिरीबन्धु टि–स्टेटमा कुरा झिकेर भ्रम छर्न खोजेको बताए । गिरीबन्धु टि–स्टेटको ३ सय ४३ बिधा जग्गाको घोटालामा राष्ट्रिय सहमति भएको जस्तो देखिन्छ ।
भूमाफिया र जग्गा दलालको योजनामा झापाको अर्जुनधारा र बिर्तमोड नगरपालिकामा रहेको हदबन्दीभन्दा बढीको ३ सय ४३ बिघा जग्गा बेचबिखन गर्नकै लागि तत्कालीन प्रधानमन्त्री ओली सरकारले भूमि ऐनको १८ औं संशोधन गराएको थियो । ऐन संशोधन भएपछि ओली सरकारले फास्ट ट्रयाकमा मन्त्रिपरिषद् बैठक बसेर गिरीबन्धु टि–स्टेटको जग्गा कौडीमा बेचबिखन गरेर निजकैको पृश्वीनगरमा चिया बगान स्थानान्तरण गर्ने निर्णय गरेको थियो । तत्कालीन भूमि सुधार मन्त्री पद्या अर्याल र सचिव टेकनारायण पाण्डेले भूमाफियालाई फाइदा पुग्नेगरी निर्णय गराएकी थिइन ।
मन्त्रिपरिषद् बाट निर्णय गराउन र ऐन ल्याउन भूमिका खेल्ने पूर्वमन्त्री अर्याललाई भूमाफियाले कोरियन ब्रान्डको २ करोड रुपैयाँको गाडी उपहार दिएको समेत चर्चामा आएको थियो । एमाले अध्यक्ष ओली, सचिव अर्याललगायतका नेता मुछिएपछि ओलीले त्यसमा आफ्नो संलग्नता नभएको प्रस्टीकरण दिएका छन् ।ओलीले यी काण्डको नाम नलिई आफुले कानूनअनुसार निर्णय गरेको भन्दै त्यसमा आफु नफस्ने टिप्पणी समेत गरेका छन् । बिहीबार आयोजित कार्यक्रममा ओलीले आफुले कानून पल्टाइपल्टाइ फैसला र निर्णय गरेको बताउँदै भने, मेरा कामकारबाही म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री हुँदा, गृहमन्त्री हुँदा मेरा कामकारबाही एक शब्द नचिप्लयोस् भनेर मैले कानून पल्टाइपल्टाइ फैसला गरेको छु । निर्णय गरेको छु । त्यसमा कसैको इच्छाले केपी ओलीलाई फसाउन सक्दैन । माकुुराको जालोमा भैंसी पर्दैन भन्ने यिनीहरुले बुझनुपर्छ । ’
आजको राजधानी पत्रिकामा खबर छ ।