
ओखलढुङगा । ओखलढुङगाको खिजिदेम्वा गाउँपालिका–५ खिजिफलाटेमा महादेवको मन्दिर निर्माण हुने भएको छ । विश्व हिंन्दु युवा संघको समान्यमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलको संरक्षण, आन्तरिक तथा वाहय पर्यटन प्रवद्धनको महान उदेश्य राखेर मन्दिर निर्माणको तयारी भएको निर्माण समितिले जनाएको छ ।
करिब तीन रोपनी क्षेत्रफलमा बन्न लागेको महादेव मन्दिरको दायाँ भागमा १११ फिटको त्रिशुल स्थापना गरिने समेत आयोजक विश्व हिंन्दु युवा संघका केन्द्रिय सदस्य भिमराज सुनुवारले बताए । करिब दुई करोड पचास लाख अनुमानित लागत लाग्ने उक्त मन्दिर संभवत नेपालको इतिहासमा धेरै फिट अग्लो त्रिशुल सहितको महादेवको मन्दिर हुने आयोजक समितिका संयोजक राम चन्द्र घिमिरेको विश्वास छ ।
विश्वको शिखर सगरमाथाको आधार शिविर नजिक बन्न लागेको यो मन्दिरले आन्तरिक तथा वाहय पर्यटक प्रवद्धनमा समेत टेवा पुर्याउने लक्ष्य राखिएको छ । सगरमाथाको आरोहण गर्न विश्व भरीबाट आउने पर्यटकको यो मन्दिरले आकर्षण समेत बढाउने मन्दिर निर्माण समितिका अभियान्ता सुनुवारले प्रष्ट पारेका छन । मन्दिर निर्माणको सहयोगार्थ यही २०८० साल आश्विन शुक्ल पक्ष घटस्थापनाका दिनबाट श्रीमददेवीभागवत नवाह ज्ञान महायज्ञ लगाउने समेत तयारी गरिएको समितिले प्रष्ट पारेको छ । महायज्ञको आयोजना खिजिदेम्बा गाउँपालिका–२ श्री चण्डेश्वरी उ.मा.वि, रगनी, पोल्थली चौरको प्राङ्गणमा हुने छ । नौ दिन सम्म लाग्ने महायज्ञ सम्बन्धी सम्पूर्ण जानकारी पत्रकार सम्मेलनबाट छिटै दिइने आयोजक समितिका बेद प्रसाद घिमिरेले बताए ।