
काठमाडौं । कमल थापाले ‘गल्ती भयो’ भन्न थाल्ने र लिङ्देनका मान्छेहरुले पार्टी छोड्दै जाने पूर्वपञ्चबीच रमाइलो रस्साकस्सी शुरु भएको छ ।
‘राजाका सचिव लागेर मलाई अध्यक्षमा हराए । त्यो रिसले राजालाई केही भनेँ, मैले गल्ती गरेँ’, हालै सम्पन्न राप्रपा नेपालको बैठकमा कमलले भने,‘ मानव जीवनमा यस्तो सानोतिनो मतभेद हुँदो रहेछ !’ उता लिङदेनतिरको लफडा अलग्गै छ । संसदमा १४ सीट रहेको उनको पार्टीभित्र विद्रोह हुने खतरा बढेको छ । उनले नयाँ–पुराना राष्ट्रवादीलाई समेट्न सकेनन् भन्ने आरोप छ । उनको कार्यशैलीप्रति डा. प्रकाशचन्द्र लोहनी, दीपक बोहरा, ध्रुवबहादुर प्रधान, ज्ञानेन्द्र शाही, धवलसमशेर राणा पनि असन्तुष्ट छन् ।
केही नेता लोकन्थलीस्थित संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्दको घरमा बैठक बस्न पुगे । भोलिपल्टै लिङ्देनले तिनलाई हप्काए । ‘तपाईहरु यसरी नेता नेतको घर जाने ?’ उनीसँग असन्तुष्ट नेताहरु भन्छन्, ‘गणतन्त्र बदनाम भए समाप्तितिर जाँदा राप्रपाले सडक तताएर राजसंस्था पुनः स्थापित गर्नुपर्ने बेला हो । ’यसो भन्दै लिङ्देतिरै कतिपर्य नेताले आफ्ना मान्छेलाई कमल थापातिर पठाइरहेका छन् । भर्खरै तारानाथ लुइँटेल, विष्णु भट्टराईहरु गए । जाने तयारीमा अर थुप्रै छन् ।
कमल थापाले भन्ने गरेका छन्,‘ पहिला राप्रपा नेपाल हुँदा सबै राम्रो भइसकेको थियो । हाम्रा चुनाव चिन्ह गाई थियो । अहिले गाईबिना नै अरुको पुच्छर समात्ने काम भयो ।’ उनले राप्रपासँस एकता गरेपछि प्रचण्डको सरकारमा जानुहुँदैन भन्दा निरञ्जन थापा, दिपक बोहराहरुले उकासेर गएको भन्ने गरेका छन् । त्यसो गर्दा लोकप्रिय चुनाव चिह्न गाई गयो, त्यसपछि महाधिवेशमा दरबारका सचिवहरुले मलाई हराए । मलाई राजासँग रिस उठ्दा भूलबस भन्न नहुने कुरा भन्न पुगेँ’ कमलको भनाइ थियो, मेरो रगत–रगतमा हिन्दू राज्य र राज्यसंस्था छ । उनले बैठकमा भनेका थिए,‘ यदि लिङ्देन नेतृत्वको राप्रपाले सत्ताकेन्द्रित र फोहोरी राजनीतिक खेल खेल्दैन भने म लिङ्देनको नेतृत्व नै स्विकार्न पनि तयार छु । राजसंस्था र हिन्दु राष्ट्र पुनस्थापना गर्ने कुरालाई मुख्य लक्ष्य बनाउनुपर्छ । ’उनले दर्गा प्रसाईलाई समेत आफ्नो अभियानमा आउन आह्वान गरिसकेका छन् ।
अर्कोतिर एकाएक दिलविकास राजभण्डारीलाई लिङ्देनले उपाध्यक्ष नियुक्त गर्नुका पछाडि कमल थापातिरका नेताहरुको भूमिका रहेको बताइन्छ । धुम्बाराहीस्थित दिलविकासले दिएको घरमा राप्रपाको केन्द्रीय कार्यालय छ । काठमाडौं महानगरपालिकाले विद्युत लाइन(हाइटेन्सन) को मुनि भएको भन्दै उक्त घर भत्काउन खोज्दा कतै त्यो काम दिलविकास आफैंले पो गराएका हुन् कि भन्ठानेर हत्तपत्त उनलाई उपाध्यक्ष बनाइयो भन्नेहरु त्यहीभित्र छन् । खासमा त्यो घर भत्काउनुपर्छ भनेर महानगरमा उजुरी बोकेर जाने चाहिँ कमल थापा नेतृत्वको राप्रपाका सहमहामन्त्री दमन बस्नेत हुन् । दमन क्योकुसिन कराँतेका इन्टरनेसनल कोज। गुरुले ल्याएको उजुरी हेर्नासाथ राजु टोली लिएर धुम्बाराही पुगे । बालेनले त्यसपछि मात्र थाहा पाए । तर, लिङ्द्ेनको मनमा प¥यो,‘ दिलविकास रिसाएर नै अफिस हटाउनलाई घर नै भत्काइदिन लागे ।’ उनीहरु घर भत्किन नदिनलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट्न पुगे ।
त्यस अघि लिङ्देन आफैंले गरेको फोन बालेनले उठाएनन् । गृहमन्त्रालय पुगेर फेरि त्यहाँबाट बालेनलाई फोन गराइयो । त्यो फोन चाहि उनले रिसिभ गरे । एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले पनि गृहमन्त्रीलाई भने, ‘एउटा राष्ट्रिय पार्टीको अफिस राखेको घर यसरी सजिलै भत्काउन दिनुहुँदैन ।’ नारायणकाजीले बालेनलाई भने,‘ जिल्ला सुरक्षा समितिको बैठक बसेर, सूचना जारी गराउनुहोस् । अनि भत्काउन पर्ने भए भत्काउनुस् । यसरी त गर्न पाइँदैन नि ! त्यसपछि सुरक्षा समितिको बैठक बस्यो । त्यसमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, महानगरबाट एसपी राजु, विद्युत प्राधिकरणका प्रतिनीधिहरु थिए । विद्युतका प्रतिनिधिहरुले‘ त्यो घर एक मिनेट पनि राख्न हुँदैन’ भने । राप्रपाका प्रतिनिधिले ‘२१ दिनमा हामी आफैं घर खालि गछौं भने । यसरी २१ दिनसम्म खेल्ने मौका मिल्यो । दिलविकासका नातेदार कल्याणी राजभण्डारी र प्रभात चापगाईको नाममा त्यँहाको जग्गा छ कल्याणी अमेरिका बस्ने । प्रभास दिलविकासका कर्मचारीकी छोरी । उनीहरु २१ दिनको बीचमा सर्वोच्चमा रिट दिए । त्यहाँबाट भदौ ६ गतेसम्मलाई अल्पकालिन आदेश जारी भएको छ । रिट निवेदकको माग छ, हाइटेन्सनलाई जमिनमुनिबाट लैजाने र घर भत्काउन नदिने । यसमा विद्युत प्राधिकरणको तर्क छ,‘ एउटा हाइटेन्सन जमिनमुनि लगेर कहाँ हुन्छ ? नेपालमा लाखौं घर हाइटेन्सनमा छन् । त्यसमाथि राप्रपा रहेको घरको नक्सा पास भएको छैन, त्यसमाथि जमिनको मुआब्जा लिइएको छ ।
आजको जन आस्था साप्ताहिक पत्रिकामा खबर छ ।