काठमाडौं । ‘गर्ने–गर्ने भन्दै हल्ला चर्को भयो । भित्रको अवस्था हेर्दा केही न केही ! विभक्त भएका विभिन्न माओवादी घटक जोडिने, विप्लव, डा. बाबुरामसम्म प्रचण्ड नेतृृत्वको एउटै पार्टीमा रहने भनेर एक समय निकै चलेको हल्ला आखिरमा हल्ला हल्लामा नै सेलाएको छ ।
कपिलवस्तुको सिलगढीमा हालै सम्पन्न विप्लव नेतृत्वको नेकपा बैठकमा यसबारे सामान्य कुरा उठ्यो । यद्यपि, अहिले समाजवादी मोर्चाबाटै अगाडि बढ्ने भन्ने निश्कर्षसहित बैठक टुंगिएको छ । जतिबेला प्रचण्डबाट पार्टी एकताको प्रस्ताव आएको थियो, त्यसबेला ‘गरौं’ भन्नेमा सबैको जोड रह्यो । विप्लवहरु तयार पनि भए । तर, जब उनीहरु कस्सिए, तब माओवादी केन्द्रीका नेताहरु चुप लाग्न थाले । स्वंय प्रचण्डले त केही भनुभएको छैन । तर जनार्दन शर्मा, वर्षमान पुन (अनन्त), शक्ति बस्नेतहरुले नै वास्ता गर्न छाडेको बुझाइ छ । पछिल्लो समय विप्लवसँग पार्टी एकताको अफर गरेको कुरा बलियोसँग आएकै छैन ।
त्यसैले शिवगढी बैठकमा यसबारे खासै छलफल भएन । उता, डा. बाबुराम भट्टराईसँग पनि प्रचण्डले ‘मिलैं–मिलैं भन्नुभयो । तर, ‘मिल्ने’ भन्दा वास्ता छैन । किनभने, अहिले उपेन्द्र यादवलाई खुसी पार्ने काम भइरहेको छ । उपेन्द्रलाई सिके राउतले बढी स्पेश पाउलान् भन्ने चिन्ता छ । त्यसैले उनी पनि सत्तारुढ गठबन्धनसँग निकटमै रहन चाहन्छन् । संसदमा बाबुरामको जम्मा एक सीट हो ।
शिवगढी बैठकमा विप्लवले एमसिसीको विरोध गर्ने कुरा निकाले । प्रचण्ड नेतृत्वको माओवादीसँग एकतामा जाने कुरा भइरहँदा हेमन्तप्रकाश वलीहरु भने विप्लवको सम्पर्कमा छैनन् । बरु, विप्लव र उनीबाट अलग्गिएर वैद्यतिर लागेका धर्मेन्द्र बास्तोला (कञ्चन) को भेट भएको छ । अर्कोतिर क्रान्तिकारी माओवादीको नाममा पार्टी चलाउने मोहन वैद्य (किरण)का नेताहरु ‘दान गरेर ल्याएको गाई’ जस्तो भएका छन् । धर्मेन्द्र बास्तोलालाई त्यहाँभित्रका केन्द्रीयका केन्द्रीय सदस्यले मान्दैनन् । उनीहरु भन्छन् । ‘अब पनि किरणले क्रान्ति गर्छन् र ? तर, वैद्य स्वयंचाहि धर्मेन्द्रलाई नेतृत्व दिने पक्षमा छन् । सीपी गजुरेलले मान्ने छाँट छैन । एकथरी नेता जनयुद्धको नामै उच्चारण गर्दैनन् । फागुन १ आएपछि ओली र प्रचण्डझैं झगडा भइहाल्छ ।
विप्लवको पार्टीको ठहर छ, ‘ओलीलाई देशभित्रको कुलीन वर्ग र बाहिरकोले पनि पत्याउने हैनन् ।’ अहिलेका चुनैति रवि लामिछाने, गगन थापा र सिके राउत हुन् भन्नेमा बैठकमा मतैक्यता भएको छ । बालेनको हकमा खासै चर्चा भएन । पार्टी बनाएपछि कसरी आउँछन् भन्नेमा उनको मूल्यांकन निर्भर हुने नेताहरुले बताएका छन् ।
आजको जन आस्था साप्ताहिक पत्रिकामा खबर छ ।