जिउडाल हेरेर महिलाको मोलमोलाइ

घरको आर्थिक अवस्था कमजोर भएकाले दुबई गएकी सिन्धुपाल्चोककी २२ वर्षीया एक युवतीले कक्षा १२ सम्म पढेकी छिन् । आमाबुवाकी प्यारी छोरी बनेर हुर्किएकी उनमा विदेसिने चाहना भने पटक्कै थिएन ।

दियो पोस्ट  

काठमाडौंं । ‘अंग्रेजी राम्रो, मेकअप म्याच गर्ने, हँसाइ राम्रो भएको, जिउडाल मिलेको, कपडा लगाँउदा फिगर राम्रो देखिने युवतीलाई १२/१५ लाख तिर्न कसैले गाह्रो मान्दैनन्,’ दुबईमा बन्दक बनाइएकी एक युवतीले भनिन्, ‘घरेलु कामदारका लागि भन्दै दैनिक विभिन्न देशबाट डिमान्ड आउँछन् तर हामीलाई बन्धक बनाएको नेपाली एजेन्टसँग कुरा मिलेको छैन ।’

घरको आर्थिक अवस्था कमजोर भएकाले दुबई गएकी सिन्धुपाल्चोककी २२ वर्षीया ती युवतीले कक्षा १२ सम्म पढेकी छिन् । आमाबुवाकी प्यारी छोरी बनेर हुर्किएकी उनमा विदेसिने चाहना पटक्कै थिएन । उनकी एउटी सानी बहिनी पनि छिन् । बुढेसकालमा जन्मिएका दुई छोरीको पढाइ र भविष्य कसरी सुन्दर बनाउन सकिएला भनेर बुवाआमाले चिन्ता लिने गरेको उनलाई थाहा थियो । बुवाआमाको त्यही चिन्तालाई खुसीमा बदल्ने र बहिनीको उज्जवल भविष्यका लागि जिम्मेवारी लिने संकल्प बोकेर उनी विदेसिएकी थिइन् । तर, उनले आफन्तबाटै यस्तो संकटको भुमरीमा फसिएला भन्ने सोचेकै थिइनन् ।

अलिकति पढेलेखेकी र चिटिक्क देखिने भन्दै आफुलाई नेपाली एजेन्टले बढी मूल्यमा बेच्ने कोसिस गरिरहेको ती युवतीले बताइन् । ती एजेन्टले आफुलाई नराम्रो नजरले हेर्ने गरेको पनि उनको भनाइ छ । उनले यी सबै पिरव्यथा र बाध्यताबारे सामजिक सञ्जालमा राखेर वैदेशिक रोजगार उद्धार केन्द्रसमक्ष सहयोगको याचना गरेकी छिन् । भिजिट भिसामा दुबई पुगेर काम गरेर अलिअति पैसा कमाउने सोच उनमा थियो । तर दुबई पुगेर काम गर्ने त परको कुरा, व्यक्तिगत स्वतन्त्रा सबै गुमेको उनको भनाइ छ । एउटा बन्द कोठामा थुनिन विवश उनले दुबई टेकेयता परिवारसँगको सम्पर्क पनि टुटेको बताइन् ।

नेपाली एजेन्टले ल्याएर आफुलाई थुनेको कोठामा अरु १३ नेपाली महिला पनि रहेको उनले सामजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । उक्त बन्द कोठाबाट १४ महिलाले उद्धारका निम्ति सामूहिक अपिल गरिरहेको वैदेशिक रोजगार उद्धार केन्द्र नेपालका अध्यक्ष इन्द्रलाल गोलेले बताए । ‘नेपाली महिला सबैभन्दा बढी कुवेत, इराक, ओमन र भारतमा बेचिएका छन,’ उनले भने, ‘पुस्ष भने कम्बोडिया, लाओस, भियतनाम, बर्मामा बेचिने गरेका छन् । ’

उनका अनुसार पछिल्लो समय पढेका–नपढेका सबैलाई विदेश जाने हुटहुटी जागेको छ । विशेष गरेर सिप नभएका र नपढेकाहरुले विदेशमा विभिन्न समस्या झेल्नुपरेको अध्यक्ष गोलेले बताए । शिक्षित युवती त विदेशी भूमिमा दुःखको जञ्जालमा पर्छन् भने अशिक्षित महिलाको त कुरै नगरौं,’ उनले भने अशिक्षित महिलाले आफू बेचिएको थाहा पाउँदा पनि घरको ऋण, छोराछोरीको पढाइ सम्झेर शोषण, दुव्र्यहार र अवहेलना खेपिरहेका छन् । आफन्त, दाजुभाइ तथा दिदिबहिनीबाट धेरै महिला बेचिएका छन् ।

आजको नागरिक दैनिक पत्रिकामा खबर छ ।