
बुटवल । बुटबल उप–महानगरपालिका, वडा नम्बर १९ स्थित मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्षले आर्थिक हिनामिना र अनियमितता गरेको भन्दै उपभोक्ताले राजिनामा माग गरेका छन् । संस्थाका अध्यक्ष जंगबहादुर खत्रीले कार्यसमितिलाई कुनै जानकारी नगराई संस्थाको हितबिपरीत लाखौं मूल्य पर्ने खानेपानीका सामग्री खरिद गरि आर्थिक अपचलन गरेको भन्दै नैतिकताका आधारमा अध्यक्षको राजीनामा माग गरिएको हो ।
संस्थाका कार्यसमिति सदस्य केशवबहादुर कुँवरका अनुसार अध्यक्षले कोटेशन बिना गत जेठमा संस्थालाई आवश्यकभन्दा धेरै खानेपानीका सामान खरिद गरेका थिए । सदस्य कुवँरले भने, ‘कुल १८ लाख ९१ हजार ५०३ रुपैयाँको सामान खरिद गरिएको रहेछ । तर हामीलाई कुनै जानकारी छैन । न त, कार्यसमितिलाई जानकारी गराइएको छ । यो सरासर गलत हो, हामी गलतका बिरुद्ध आन्दोलन गर्छौँ ।’ बिना कोटेशन, बैठक नै नबसी, सहमती बिना समान खरिद गर्नु अध्यक्षको गलत मनसाय देखिएको कुँवरको भनाइ छ ।
संस्थाका कोषाध्यक्ष कृष्णबहादुर नेपालीका अनुसार अध्यक्षले सामान खरिद गरेर चेकमा हस्ताक्षर गर्न भने पछि मात्र घटना सार्वजिक भएको थियो । उनले भने, ‘संस्थामा के भइरहेको छ भनेर हामी कार्यसमितिकै जिम्मेवार ब्यक्तिलाई थाहा छैन । जेठ मसान्तमा सामान ल्याइएको रहेछ, अध्यक्षले सामानको भुक्तानीका लागि चेक काटेर मलाई हस्ताक्षर गर्न भने पछि मात्र मैले थाहा पाएको हुँ । करिब १९ लाखको चेक देखे पछि म झसंग भएँ ।’
यति ठुलो रकमको सामान खरिद गर्दा टेन्डर आव्हान हुनु पर्नेमा त्यसो नगरिएको कोषाध्यक्ष नेपालीको आरोप छ । टेन्डर आव्हान नगरि सामान खरिद गरिएको हुँदा अध्यक्षको नियत प्रष्ट नभएको उनले बताए । त्यसो त, मोतिपुर खानेपानी संस्थामा बुटबलका वडा नम्बर १७, १८ र १९ का ४ हजार २ सय भन्दा बढी उपभोक्ता रहेका छन् ।
अध्यक्षले सल्लाह नै नगरि यति ठुलो रकमको सामान खरिद गर्दा उपभोक्ताको भावनामाथि चोट पुगेको ‘बेथिति बिरुद्ध सचेत नागरिक अभियान’ मोतिपुरका उपाध्यक्ष श्याम विश्वकर्माको भनाई छ । बिश्वकर्माका अनुसार, ‘खानेपानी जस्तो पवित्र संस्थामा आर्थिक हिनामिना गर्नु अपराध हो । अध्यक्षले नियतनवस गल्ती गर्नु भएको हो र उहाँले नैतिकताका आधारमा राजिनामा दिनु पर्छ ।’ अध्यक्षले आफ्नो ब्यक्तिगत लाभका लागि संस्थाको दुरुपयोग गरेको उपाध्यक्ष विश्वकर्माको आरोप छ । उपभोक्ता समितिका सदस्य भीमलाल तिवारीले संस्थामा करिब ५ करोड रुपैयाँ रहेको र अध्यक्षले राजीनामा नदिएको खण्डमा आगामी दिनमा थप आर्थिक हिनामिना हुन सक्ने भन्दै शंका ब्यक्त गरे ।
यता, अध्यक्ष जंगबहादुर खत्रीले सामान खरिद गरिएको स्वीकार गरे । उनी भन्छन्, ‘सामान खरिद गरिएको सत्य हो । तर, प्रकृयामा मात्रै त्रुटी भएको छ, यसलाई अनियमितता भन्न मिल्दैन ।’ आफुले गरेको सामान्य त्रुटीलाई केही व्यक्तिहरुले बिरोध गरेर राजीनामा माग गरेको उनको भनाई छ ।
सबै प्रकृया मिलाएरै आवाश्यक सामान खरिद गरिएको खत्रीको दाबी छ । उनी भन्छन्, ‘खानेपानीको पाइप मर्मतका लागि भनेर हामीले पलम्वरलाई सामानको लिस्ट बनाउन भनेका थियौँ । सोही लिस्टका आधारमा अनुपम इन्टरप्राइजेज बुटबलबाट कोटेशन पनि लिएका थियौँ । तर, सामान खरिद भएपछि केही साथीहरुले बिरोध गर्नु भयो । संस्थाको हितमा काम भएको छ, यसमा मेरो कुनै स्वार्थ छैन ।’ आफुले गरेको सामान्य त्रुटीलाई लिएर राजीनामा माग गर्नु उचित नभएको उनको भनाइ छ ।
यद्यपी, बहुमतद्वारा राजीनामा माग गरिएको खण्डमा नैतिकताका आधारमा आफुले पद छोड्ने उनले प्रष्ट पारे ।