काठमाडौं । नेपालका एक मात्रै डलर अर्बपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीको स्वामित्व रहेको सिजि सिमेन्ट उद्योगमा चोरीको गाडी भेटिएको छ ।
चौधरी समुहको लगानी रहेको पाल्पाको दुम्किवासस्थित सिजि सिमेन्ट उद्योगमा चोरीको इन्धन ट्यांकर भेटिएको हो ।भेटिएको ट्यांकर प्रहरीले क्रेनको सहायतामा बाहिर निकालेको छ ।
गोले क्रेन सर्भिसको नाममा दर्ता रहेको ना १ क १८१० नम्बरको पानी ट्यांकर चोरी गरि लुकाइएको
अवस्थामा उक्त उद्योगमा भेटिएको हो । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का दिपक घिमिरेले गाडी खरिद गर्ने भनि गत २०७९ माघ २७ गते ३५ दिनभित्र पास गर्ने भनि बैना गरेका थिए । तर, त्यसरी बैना गरि लगेको गाडी हालसम्म पनि पास नगरि उनले लुकाएर चौधरी समुहको उद्योगमा भाडामा लगाएका थिए ।
यस विषयमा पीडितले महानगरीय प्रहरी प्रभाग काडाघारीमा निवेदन समेत दिएका थिए । सोही निवेदनको आधारमा खोजतलास हुँदा गाडी चौधरी समुहको उद्योगमा भेटिएको हो ।
अहिले यो गाडी क्रेन लगाएर फिर्ता ल्याइँदैछ । सिजि सिमेन्ट उद्योग चौधरी समुहको ठूलो प्रोजेक्ट हो । यस्तो प्रतिष्ठित घरानाको उद्योगमा चोरीको गाडी भेटिइनुले चौधरीको साखमा समेत असर गरेको छ ।