
रुपन्देही । बुटबलस्थित ‘प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था’मा ब्यापक आर्थिक अनियमितता भएको भन्दै उपभोक्ता तथा असन्तुुष्ट पक्षले बिरोध जनाएका छन् । संस्थाका अध्यक्ष जित बहादुर मल्लले चरम आर्थिक हिनामिना गरेको र कुनैपनि आर्थिक कारोबार उपभोक्तासामु सार्वजनिक नगरेको भन्दै बिरोध गरिएको हो ।
संस्थामा बिगत १९ वर्षदेखि एउटै ब्यक्ति अध्यक्ष पदमा रहि एकलौटी ढंगले संस्था चलाउन खोजेको आरोप छ । प्रगतिनगर तथा देबीनगर (१४ वटा) टोल बिकास समितिका संयोजक बिर बहादुर कुँवरले बिगत १७ वर्षदेखि संस्थाको समधारणसभा नभएको बताए । उनले भने, “लामोसमयदेखि संस्था विधिपूर्ण ढंगले चलेको छैन । संस्था लोकतान्त्रिक बिधि र प्रणाली अनुसार चल्नुपर्छ भन्ने नै हाम्रो माग हो ।”
बिवाद सुुरु भएपछि खानेपानीको समाधानका लागि बुटबल उप–महानगरपालिकाले साउन ४ गते संस्थालाई पत्र पठाएको थियो । तर अध्यक्ष मल्लले उप–महानगर पालिकाको पत्रलाई वेवास्ता गर्दै संस्थालाई आफू अनुकूल चलाउन खोजेको संयोजक कुँवरको आरोप छ ।
उप–महानगरपालिकाले साधारण सभा तथा अधिवेशनका लागि संस्थालाई पठाएको पत्रमा भनिएको छ, ‘उपभोक्ता सदस्यहरुको हितमा रहने गरि बुटबल उपमहनगरपालिकाको जलश्रोत उपयोग ऐन २०८० मा भएको ब्यवस्था बमोजिम बिधान स्वीकृत गराएर मात्र साधारण सभा तथा अधिवेशन गर्नु गराउनु । तर अध्यक्ष मल्लले उपमहानगर पालिकाको पत्रको वेवास्ता गरेको बताउछन् प्रगतिनगर एफ सेक्टरका अध्यक्ष तथा समाजसेवी टेक बहादुर गुरुङ । उनी भन्छन्, ‘अध्यक्षले साधारण सभाको मिति घोषणा नहुँदै मनोमानी ढंगले प्रतिनिधि चयन गर्न खोज्नु भएको थियो । यसरी आफुखुसी प्रतिनिधि चयन गर्ने अधिकार अध्यक्षलाई छैन । त्यसैले हामीले बिरोध गरेको हौँ । संस्थालाई अद्यवधिक राख्न र संस्थाको हितमा काम गर्न हामीले अध्यक्षलाई सुुझाव दिएका छौँ ।’ उनले सबै उपभोक्तालाई साधारणसभामा सहभागी गराउनुपर्ने बताए ।

त्यसो त, अध्यक्षले नेपालको कानुन र नगरपालिकाको जलश्रोत उपयोग सम्बन्धि कानुुन बिपरित अधिवेशन गरेर संस्था नगरपालिकामा बुझाउन खोजेको आरोप छ । नयाँ घरमा धारा जडान गर्दा लिइने शुल्कमा समेत प्रगतिनगर र देबिनगरमा भेदभाब गरिएको तथा ‘ओभर टाईम ड्युटी’का नाममा प्रति कर्मचारीलाई मासिक ९० हजार रुपैयाँसम्म पारिश्रमिक दिई आर्थिक अपचलन गरेको बताइएको छ ।
अध्यक्षले वर्षेनी लाखौँ रुपैँया अपचलन गरेको र उपभोक्तालाई हिसाव नदेखाएकाले आफुहरु बिरोधमा उत्रिनु परेको बताउँछन् स्थानीय समाज सेवी देब बहादुर थापा । उनी भन्छन्, ‘१९ वर्षदेखि संस्थामा एउटै व्यक्तिको हालीमुुहाली छ । कार्यालयमा आफ्ना नाता–गोता र आफु नजिकका मान्छेलाई कर्मचारीका रुपमा भर्ना गरिएको छ । यो सरासर संस्थाको हित बिपरित हो ।’
स्थानीय ब्यक्तिहरुको पहलमा २०५८ सालमा बोरिङ खनेर निमार्ण गरेको खानेपानी संस्था २०६३ सालमा जलस्रोत समितिमा दर्ता भएको थियो । हाल संस्थामा २ हजार ६ सय ४५ उपभोक्ता छन् । २०६२ सालदेखि जित बहादुर मल्ल अध्यक्ष पदमा छन् । तर, २०७५ सालमा ओभर हेड ट्याङ्की निर्माण गर्दा लागेको खर्च बिवरण तथा अन्य आय व्ययको बिषयमा अध्यक्षले कुनै जानकारी नगराएको उपभोक्ताको आरोप छ ।
यता अध्यक्ष मल्लले लामो समयदेखि बिभिन्न कारणले साधारण सभा तथा अबिधेशन गर्न नसकेको कारण यो बिवाद उत्पन्न भएको बताउँछन् । उनी भन्छन्, ‘हामीले २०६७ मा साधारणसभा गरेका थियौँ । साधारण सभा सम्पन्न भईसके पछि निर्वाचन प्रकृयामा विवाद उत्पन्न भई अधिवेशन रोकिएको थियो । आम निर्वाचन, भुकम्प, कोरोना महामारी लगायत कारणले अधिवेशन रोकिदैँ आयो । हाल अधिवेशन गर्नका लागि प्रतिनिधि छनौट प्रकृयामा छौ । तर, समयमा अधिवेशन गर्न उप–महानगर पालिका वाधक बनेको छ ।’

अहिलेसम्म संस्थाको आय व्यय सार्वजनिक किन गरिएन त? भन्ने प्रश्नमा अध्यक्ष मल्ल भन्छन्, मैले आर्थिक हिसाव किताव सडकमा गएर सुनाउने होइन । सार्वजनिक रुपमै हिसाव किताव बुुझाउने थलो भनेको साधारण सभा हो । हामीले छिट्टै साधारणसभा आयोजना गरेर संस्थाको हिसाव किताव सार्वजनिक गर्छौँ ।’
खानेपानी जस्तो मानव जीवनसंग जोडिएको संस्थामा राजनीति गर्न खोजिएको अध्यक्ष मल्लको आरोप छ । खानेपानीको मुहान संरक्षण, अधिवेशन तथा साधारण सभा गर्न उप–महानगरपालिका वाधक बनेको उनले बताए ।
