
पर्सा । पर्सामा विवाहको प्रलोभनमा पारेर १९ वर्षीय मिना कुमारी (नाम परिवर्तन) बलात्कृत भएकी छन् । विगत २ वर्षदेखि लगातार रुपमा पिछा गरेर विवाहको प्रलोभन देखाउदै जबरजस्ती करणी गर्दै आएको भन्दै मिनाले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएकी छन् । जिल्लाको वीरगंज महानगरपालिका–१ बजार छपकैया टोलका २२ वर्षीय बिक्की कुमार दासले पछिल्लो पटक धम्की दिदै गत असार ३१ गते करणी गरेको जाहेरीमा उल्लेख छ । यद्यपी मिनलाई बिक्कीले नाबालिग अर्थात १८ वर्षभन्दा कम उमेरको हुँदा देखि नै आफूमाथि विभिन्न प्रलोभन देखाएर करणी गर्दै आएको उनले बताएकी छन् ।
तर जिल्ल प्रहरी कार्यालय पर्साले भने उक्त जाहरी लिन अस्विकार गरेको छ । मिनाका मामा उमेश कुमार शाहका अनुुसार प्रहरीले मिलापत्र गर्न भन्दै उक्त जाहेरी नै लिन मानेको छैन । शाहले भने,’हामीले करिब एक महिनादेखि जाहेरी दिन खोजिरहेका छौं तर जिल्लाको प्रहरीले तपाईहरु मिलापत्र गर्नुस् भन्दै जाहेरी नै लिएको छैन । मेरो भान्जिलाई प्रहरीले एक दिनै भरि थुनेछ । पछि जमानतमा छोडिदियो । ‘
शाहका अनुसार आरोपीत पक्षले पीडित पक्षलाई मिलापत्र गर्न भन्दै बारम्बार धम्की दिदै आएको छ । पैसावाला भएकै कारण पनि प्रहरीले समेत जाहेरी नलिएको उनको आरोप छ ।
‘त्यो केटाहरु खुब पैसावाला हो त्यसैले पनि अहिले हामीहरुलाई हेपिरहेको छ । प्रहरीले पनि त्यही भएर हाम्रो जाहेरीसम्म लिन मानेन । यहाँको प्रहरीले जाहेरी नलिएपछि अब आइतबार हामी काठमाडौं आउदै छौं काठमाडौंबाट जाहेरी दिएपछि मेरो भान्जिले न्याय पाउछ की !” उनले अपेक्षासहित भने ।
जाहेरी दर्ता गर्नका लागि गएकी मिनालाई प्रहरी एक दिनभरि जेलमा थुनेको थियो । प्रहरी लगायत आरोपीत पक्षले अहिले बारम्बार मिलापत्र गर्न भन्दै धम्की दिदै आएको शाहले बताए । प्रहरीले जाहेरी दर्ता नगरेपछि आउदो आइतबार नै पर्साबाट न्यायका लागि काठमाडौं आउदैछन् ।
आरोपीत बिक्कीले विगत २ वर्षदेखि शहर बजार घुम्न जाउँ, उमेर पुगेपछि विवाह गर्छु, घरमा लगेर राम्रोसँग पाल्छु भन्दै विभिन्न प्रलोभनमा पारेको पीडित मिनाको भनाई छ ।
हामीले जाहेरी दर्ता नगरेको विषयमा बुझ्न खोज्दा प्रहरी भने जवाफ दिन तर्किएको छ ।
उमेर हदअनुसार यस्तो छ कानुनी व्यवस्था ?
मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ मा कसैले जबरजस्ती करणी गर्न हुँदैन, कसैले कुनै करणी गरेमा वा मञ्जुरी लिएर पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भन्ने कानुनी व्यवस्था गरेको छ ।
जबरजस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद सजाय हुने व्यवस्था गरेको छ । जसमा १० वर्षभन्दा कम उमेरकी बालिका भए १६ वर्षदेखि २० वर्षसम्मको कैद सजाय, १० वर्ष वा १० वर्षभन्दा माथि १४ वर्षभन्दा कम उमेरकी बालिका भए १४ वर्षदेखि १६ वर्षसम्म कैद, १४ वर्ष वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्ष देखि १४ वर्षसम्म कैद, त्यसैगरी १६ वर्ष वा १६ वर्ष भन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद र १८ वर्ष वा १८ भन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।