निधन भएका दुधे बालक गाड्ने सरकारी जग्गा कांग्रेस नेता केसीले गरे कब्जा

मेयर महर्जनको समेत संलग्नता

दियोपोस्ट संवाददाता

काठमाडौं । निधन भएका बच्चाहरु अन्तिम संस्कारस्वरुप गड्न प्रयोग गर्दै आएको सरकारी जग्गा कांग्रेस नेता एवं डाक्टर केदार नरसिंह केसीले कब्जा गरेका छन् ।
उक्त सरकारी जग्गा (मचागाः) नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा सांसद अर्जुन नरसिंह केसीका भाइ कांग्रेस नेता समेत रहेका डाक्टर केसीले आफ्नो घरकम्पान्ड बनाएर तारबार गरेर राखेको पाइएको हो  । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नंं ९ मनमैजुको लोकतान्त्रिक चोकस्थित कित्ता नम्बर ६३ को मचागाः आफ्नो दाजु मन्त्री भएको समयमा पर्खाल लगाएर सो जग्गा आफ्नो घर कम्पान्डमा ल्याएर प्रयोगमा ल्याएका थिए ।

करिब पाँच करोड मूल्यबराबरको नौ आना सरकारी जग्गा उनले वर्षौँदेखि ओगटेर राखे पनि स्थानीय चुनावमा कांग्रेसबाटै निर्वाचित तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले समेत सो जग्गा नटुक््रयाउने नीति लिएका छन् । जग्गा नछुट्याएको विषयमा वडा नं. ९ का वडाअध्यक्ष श्यामकृष्ण महर्जनसँगको प्रश्नमा नगरपालिकाले लिनुपर्ने अग्रसरता नलिएको बताए । वडाअध्यक्ष महर्जनका अनुसार नगरपालिकालाई वडाले जग्गा छुट्याउनुपर्ने र देखाउनुपर्ने सबै गरिसकिएको र बाँकी काम नगरपालिकाको नै हुने बताए । सरकारी जग्गा कब्जा गरेर घर कम्पाउन्ड बनाएपछि स्थानीयहरूले लगातार विरोध गरे पनि कांग्रेस नेता समेत रहेका केदार नरसिंह केसीले जग्गा स्थानीय तहलाई जिम्मा नलगाई हाफ्नो पावर देखाउने गरेको स्थानीयहरूले गुनासो गरेका छन् ।

स्थानीयहरूका अनुसार दुधे बच्चाहरूको मृत्युपछि गाड्न प्रयोग गरेको जग्गा वर्षौँदेखि कब्जा गरेर राखेको र सो जग्गा सरकारलाई फिर्ता गरी पार्क बनाउन माग राख्दा समेत केदार नरसिंह केसीले दम्भ देखाउने गरेको बताए । जग्गा हडपेको विषयमा तारकेश्वर नगरपालिकाको सार्वजनिक सुनुवाइ र संघीय सांसदले आयोजना गरेको सार्वजनिक सुनुवाइमा समेत यस विषयमा कुरा उठ्दा नगरपालिका यस विषयमा मौन छ । कांग्रेसबाट निर्वाचित तारकेश्वर नगरपालिकाका मेयर महर्जनले कांग्रेस सांसदले नै हडपेको सरकारी जग्गा फिर्ता ल्याउन पहल नगर्नुले मेयरले पार्टीप्रति बफादारी देखाएको स्थानीयहरूको आरोप छ ।

 

त्यसो त तारकेश्वर नगरपालिकाका मेयर महर्जन पछिल्लो समयमा विवादमा आइरहेका छन् । उनले काठमाडौंको नेपालटारमा अत्यन्त व्यस्त रहने सडकमा रहेको साङ्ग्रो पुलको स्तरोन्नती नगरी पुलकै मुखमा अनावश्यक रूपमा लाखौँको लगानीमा नगरपालिका प्रवेश गर्ने गेटको नाममा दुरूपयोग गरेको भन्दै व्यापक विरोध भएको थियो । पेसाले ठेक्कापट्टा गर्ने महर्जनले मेयरमा निर्वाचिन भएपछि पनि नगरपालिकाको सामान्य छलफल समेत आफ्नो लगानीको ब्याङ्केटमा गरेर राज्यको ढुकुटी सक्ने काम गरेको आरोप लाग्ने गरेको छ । उनै मेयर महर्जनको समेत इच्छामा केसीले हडपेर प्रयोग गरिरहेको नौ आना जग्गा फिर्ता नल्याउने नीति लिइएको स्थानीयहरूले बताएका छन् ।

आर्थिक दैनिकबाट