काठमाडौं । स्थानीय तहका रिक्त पदमा मंसिर तेस्रो साता चुनाव गर्न सरकारलाई निर्वाचन आयोगले सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे आज भएको छलफलपछि यस्तो सुझाव दिएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ।
प्रधानमन्त्री ओलीले जाडो समयअगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गरेका थिए। मिति घोषणाअघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ।
छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला लगायत सहभागी थिए।