संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश

दियोपोस्ट संवाददाता  

काठमाडौं । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको प्रतिवेदन मंगलबार प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको कानुन तथा न्याय मानवअधिकार समितिमा दफाबार छलफलपछि तयार पारिएको सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पेस भएको हो । कानुन, न्याय तथा मानवअधिकार समिति सभापति विमला सुवेदीले सो प्रतिवेदन पेस गरेकी हुन् ।

समितिमा संशोधनकर्ता तथा सरोकारवालाहरूसँग दफावार छलफल गरेर सर्वसहमतिबाट विधेयक समितिबाट पारित भएको सुवेदीले जानकारी दिइन् । टीआरसीका चारवटा तत्त्वहरू सत्यको खोजी, अभियोजन, परिपुरण र संस्थागत सुधार रहेको उनले बताइन् ।

यो विधेयक प्रतिनिधिसभाबाट पारित गरी भदौ ९ मा राष्ट्रियसभामा पठाउने तयारी छ । राष्ट्रियसभाबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन संशोधन हुनेछ ।