काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा विरुद्धको अभियोग पत्र जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ । झाले प्रहरी र सरकारी वकिल समक्ष ईन्कारी बयान दिएको पाइएको छ ।
दियोपोस्टलाई प्राप्त अभियोग पत्र अनुसार झाले कुनै पनि आरोप स्विकार गरेका छैनन् । पीडित रामशरण केसीबाट २ करोड रुपैयाँको चेक लिएका झाले सबै आरोप अस्विकार गरेका छन् । झासँग थप बयान समेत नलिई प्रहरी र सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा बुझाएको छ ।
उनले सरकारी वकिल र प्रहरी समक्ष दिएको बयानमा भुटानी शरणार्थी सम्बन्धी विषय थाहा नभएको बताएका छन् । त्यस्तै उनले पैसा बुझेका व्यक्तिहरु समेत नचिनेको नाटकीय बयान दिएका छन् । यहाँसम्मकी उनले चेक बुझ्दै गर्दा भिडियो खिच्ने श्याम श्रेष्ठलाई पनि नचिनेको बयान दिएका छन् । भुटानी शरणार्थी प्रकरणमा हाल कारागारमा रहेका पूर्वगृहसचिव टेक नारायण पाण्डेको बयानमा उनको नाम पोलिएको विषयमा पनि उनले इन्कारी बयान दिएका छन् ।
झाको पक्राउसँगै भिआइपीहरु नाम समेत पोलिने आशंका गरिएको थियो । तर, बाहिर गरिएको सबै अनुमान अन्तत अनुमानमै सिमित भएको छ ।
यस्तो छ उनको बयान
मेरो शारिरीक अवस्थामा रुघा खोकी, ज्वरो आई टाउको दुखिरहेको छ । साथै आँखामा समस्या भएको छ । पढ्न लेख्न कठिनाई भएको छ । मानसिक अवस्था ठिक छ । वयान कार्य गर्न सक्छु । कानुन व्यावसायी राख्न पाउने बारेमा थाहा छ । मैले कानून व्यावसयाी राखि सकेको छु ।
मलाई प्रहरी हिरासतमा राख्दा आफन्तसँग भेटघाट गर्न पाइरहेको छु । प्रहरी हिरासतमा अन्य कुनै शाररिक यातना दिइएको छैन । मिसिल संलग्न मिति २०८१।०३।१४ गतेको दाखिला प्रतिवेदन साथ पेश भएको सामसुङ कम्पनिको खरानी रंगको मोबाइल, एप्पल कम्पनिको आकाशे रंगको मोबाइल, रातो रंगको २०२४ लेखिएको डायरीहरु मलाई देखाउँदा देखेँ र चिनेँ । उक्त मोबाइल समेत मेरो हो ।
सो मोबाइलहरु मैले आज भन्दा अन्दाजी एक वर्षभित्र खरिद गरि चलाएको हुन सक्छ । एकिन मिति थाहा भएन । मिसिल संलग्न मिति २०८१।०३।२८ गतेको प्रतिवेदन साथ पेश भएको कालो रंगको पर्स १, द्यभअजबल वजब भारत सरकार लेखिएको आधार कार्ड थान १ र द्यभ्ऋज्ब्ल् व्ज्ब् आयकर विभाग भारत सरकार लेखिएको कार्ड थान एक समेत मलाई देखाउँदा देखि पाएँ । उक्त पर्स, कार्डहरु मेरो हो । हेरि चिनी सनाखत समेत गरिदिएँ । भुटानी शरणार्थी सम्बन्धमा मलाई जानकारी छैन । म कुनै राजनीतिक पार्टीमा आवद्ध व्यक्ति होइन ।
टेक नारयण पाण्डेसँग मेरो चिनजान र सम्पर्क समेत केही नभएकोले निजले कहाँ के कस्तो वयान दिएका हुन उनै जानुन् । चेकको सम्बन्धमा मलाई केही जानकारी छैन । अडियोहरुमा भएको संवाद मेरो होइन । भिडियोमा देखिएका व्यक्तिहरु को हुन् मलाई जानकारी छैन । म मेरो आवाज परिक्षण गर्न मञ्जुर छु । श्याम श्रेष्ठलाई म चिन्दिाँ, निजले के बयान दिएका छन् मलाई सरोकार छैन । हरि भक्त महर्जनलाई म चिन्दिनँ, मैले निजबाट कुनै रकम लिएको छैन, उसले कहाँ के बयान दिएका छन्, उनै जानुन् ।