झापा । सामान्य नागरिकले मरेका गाईगोरु खाएको चाल पाए प्रहरी प्रशासनले पशुपंक्षि सम्बन्धी कसुरमा मुद्दा चलाइरहेको घटना सार्वजनिक हुने गरेको छ । तर, मुलुकबाट गैरकानुनी रुपमा राज्य संयन्त्रकै सेटिङमा गाईगोरुको तस्करी भइरहँदा भने सरोकारवाला निकाय मौन छन् ।
सिरहा, सप्तरी र सुनसरी लगायत स्थानबाट तस्करहरुले गाई–गोरु ल्याएर भारतको पश्चिम बङ्गाल तर्फ तस्करी गर्दै आएका छन् । झापास्थित नेपाल—भारत सिमा नाकाहरु बाहुनडाँगी, नक्कलबन्द, कचनकवल र ज्यामिरीगढी हुँदै पश्चिम बङ्गालसम्म पुर्याइने गरेको पाइएको छ । यि स्थानमा पहिले पनि गाई–गोरु तस्कर हुदै आएको सुचना बाहिरिएपनि यो पटक भने प्रमाणित भएको छ ।
कतै जनपथ तर्फ नेपाल प्रहरीको सेटिङमा तस्करी भइरहेको छ, भने कतै प्रहरीको आँखा छलेर तस्कर समूहले गाई–गोरु भारत निकासी गर्दै आइरहेका छन् । नेपाल भारतको खुला सीमा क्षेत्रमा अवैध रूपमा गाई–गोरु भारत निकासी हुँदै आए पनि जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला प्रहरी कार्यालयले कुनै पनि एक्सन लिएको छैन् । यसले प्रशासन पनि यो धन्दामा लागेको आशंका पैदा गरेको छ ।
गोरु र गाई तस्करीमा सशस्त्र प्रहरीका सुनसरी बाहिनी अड्डा प्रमुख डिआइजी शम्भु सुवेदीको संलग्नता रहेको स्रोतले जनाएको छ । डिआइजी सुवेदीको सेटिङमा घुमुवा परिचालन गर्ने र घुमुवाले गोरु तस्करबाट पैसा उठाएर डिआइजीलाई बुझाउने गरेको स्रोतले बताएको छ । यसरी सिमा सुरक्षाको जिम्मेवारी पाएका डिआईजी स्वयंम यो खेलोमा लागेका छन् ।
स्रोतका अनुसार राती १२ बजेदेखि बिहान ४ बजेसम्म दिनभरी बटुलेका गाई—गोरु ट्रकमा खाँदेर झापाको कन्काई नगरपालिका र मेची नगरपालिकास्थित मेची क्राउन होटल पछाडिको खाली ठाउँ जम्मा गरेर राखिने गरिएको छ । यसरी स्टकमा राखिएको गाई—गोरु बिहान १ बजेको समयदेखि ४ बजेसम्म बाहुनडाँगी नक्कलबन्द, कचनकवल, ज्यामिरीगढी हुँदै पश्चिम बङ्गाल पुर्याउने गरिएको छ । मिलाउनु पर्ने सबै सेटिङ् मिलाईसकेपछि बल्ल गाईगोरुले भरिएको ट्रक नेपालको झापाका ती नाकाहरु हुँदै भारत प्रस्थान हुने गरेको स्रोतले बताएको छ ।
उनका अनुसार, गोरु तस्करी नाइकेहरूमा राम गुरुङ, नन्दु थापा, गणेश लिम्बु र विशाल लिम्बु रहेका छन् भने मुख्य भूमिका भने जीवन थापाको रहेको छ । साथै यसमा प्रहरी प्रशासन, सिमा सुरक्षाबल लगायतको पनि संलग्नता रहेको पाईएको छ ।
यसरी प्रशासनकै अघि प्रहरी अनि सशस्त्र प्रहरीका उच्च अधिकारीहरुको मिलेमतोमा गैरकानुनी रुपमा यति ठुलो मात्रामा गाईगोरुहरु सिमा पार गराएर तस्करी हुदाँ समेत प्रशासनलाई जानकारी नहुनुले यो धन्दा आश्चार्यको विषय बनेको छ । प्रशासनले जनताको सुरक्षा र सेवा गर्नुका साथै पशुको अधिकार समेत संरक्षण गर्नु प्रशासनको दायित्व हो ।
स्रोतका अनुसार, यसरी एक जिल्लाबाट अर्काे जिल्ला हुँदै भारतसम्म गाईगोरु पुर्याउनेमा जनपथ तर्फको नेपाल प्रहरी पनि संलग्न हुने गरेको छ । यस्तो अपराधिक कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष भूमिका देखिएको छ । सशस्त्रका डिआइजी शम्भु सुवेदीले आफ्ना पि.ए भूवन खड्काको सहयोगमा तस्कर जीवन थापाबाट करिब १५ दिन अघि ४ लाख २५ हजार रुपैयाँ घुस लिएको आरोप छ । सशस्त्रकै सादा पोसाकका निरिक्षक (इन्सपेक्टर) भीष्म सापकोटाको कमाण्डमा रहेका असई राजकुमार म्याङ्बो, अर्जुन कार्की, राम बहादुर कार्की र श्याम चौधरीले ५० हजारका दरले समेत उठाउने गरेको उनले बताए । यसरी तस्करबाट कमिसन रकम उठाउनकै लागि सशस्त्र प्रहरीका डिआईजी शम्भु सुवेदीले एउटा विशेष टोली नै बनाएर खटाएको पाइएको छ ।
तस्कर सञ्जिव घोषसँग समेत डिआइजीको निकट सम्बन्ध रहेको छ । डिआइजीका घुमुवा एस.पी कविन्द्र राईले पनि घोषसँगको गोप्य सेटिङमा तस्करी गर्दै आएको स्रोतले बतााएको छ ।
काकडभित्तामा डीएसपी लोकनाथ उप्रेदी कमाउँ धन्दाकै लागि झापा आएका छन् । लोकनाथ उप्रेतीले तस्करी बढाएको भन्दै केही समय पहिले मुख्यालयमा उजुरी समेत परेको थियो । उप्रेतीकै ईशारामा नेपाल प्रहरी काँकडभित्ताका सादा पोशाक हवल्दार तेजबहादुर चौलागाईं र विनोद कुमार मण्डल रहेका छन् भने सहायक हवल्दार भरत कट्टेलले तस्करीमा सहयोग गरिरहेका छन् ।
नाम नबताउने सर्तमा एक सुचकले दियोपोष्टलाई भने, “तस्करी धेरै नै बढ्यो यसबारे हामीले बोलौं भने कारबाही, यातना दिन्छन् । नबोलौं भने यो मौलाउदै जाने भो । प्रशासननै यसरी तस्करमा लागेको देख्दा सहन गाह्रो भो ।’
आफूले यो बारे मुख खोले यातना हुने भन्दै आफ्नो नाम समेत नखुलाइदिन उनले आग्रह गरेका छन् ।
यस विषयमा प्रतिक्रिया लिन दियोपोस्टले सुनसरी स्थित सशस्त्र प्रहरी बाहिनी अड्डाका प्रमुख डिआइजी शम्भु सुवेदीको नम्बरमा फोन गर्दा एसएसपी मनिष थापाले फोन उठाए । उनले डिआइजी सुवेदीको बचाउ गर्दै आफूहरुले मनिटरिङ गरिरहेको बताए । ‘हेडक्वार्टरबाट पनि मनिटरिङ गरेपछि हामीले अनुगमन गरिरहेका छौँ । अहिले त्यस्तो छैन । डिआइजी साप विदामा हुनुहुन्छ,’ उनले भने,‘उहाँलाई म सम्पर्कमा ल्याउनेछु ।’
झापा प्रहरी प्रमुख एसपी मिलन केसीलाई यो विषयमा बुझ्दा, उनले “के के छ सबै समाचार बनाउनुस् । सुचना पाउनु नागरिकको अधिकारको विषय भएकाले समाचार बनाउनुस्,” भन्दै उनले फोन राखिदिए ।
यस विषयलाई भने जिल्ला प्रशासन कार्यालय झापाले आफुहरुलाई जानकारी नै नभएको बताएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलालाई पनि हामीले सम्पर्क गरेका थियौँ ।
उनले पहिले भन्दा अहिले नाका झन् कडा भएको बताए ।
“त्यता अहिले झन कडा गस्ती भैरहेकोले त्यस्तो खालका तस्करी भएको छ भन्ने कुरामा मलाई सत्यता लागेन । ति नाकामा पछिल्लो समय कडा निगरानी भैरहेको छ,’ उनले भने । उनलाई हामीले सशस्त्र प्रहरीको सिमा सुरक्षा बल र नेपाल प्रहरीकै नेतृत्वको प्रत्यक्ष संलग्नतामा तस्करी भैरहेको बताएपछि उनले भने, ‘मलाई कहिकतैबाट त्यस्तो जानकारी नआएकोले केही भन्न सकिएन ।”