काठमाडौं । हिन्दु धर्मका प्रमुख ग्रन्थ वेदले मासु खानुलाई अनुचित मानेको छ । भागवत गितामा ‘सात्विक भोजन गर्ने मानिसको विचार पनि सात्विक हुन्छ’ भनिएको छ । जसले मासु सेवन गर्छन् त्यस्ता व्यक्ति नर्कको भागिदार हुन्छ समेत भनिएको छ । गरुण पुरायणमा पनि मासु हानिकारक खानेकुराको रुपमा विभिन्न कथा मार्फत चित्रण गरिएको छ । हिन्दु धार्मिक गुरुहरुले आफूलाई ‘सात्विक’ भोजकको रुपमा चिनाएका हुन्छन् । कतिपयले त नुन समेत सेवन गर्दैनन् ।
पशुपति क्षेत्रमा कोटिहोम संचालन गरिरहेका विजय भण्डारी भनिने बाल योगेश्वर श्री विजय कृष्ण मुर्तिजी महाराजले आफूलाई कृष्णको भक्त रहेको बताउने गरेका छन् । केहीदिन अघि एपीवान टेलिभिजनमा प्रशारित टेलिभिजनमा उनले आफूलाई कृष्णको भक्त रहेको बताएका थिए ।
उनै कृष्णको नामबाट आफ्नो नाम समेत विजय कृष्ण मुर्तिजी महाराजको रुपमा गुरुले नामाकरण गरेको उनको दाबी छ । पुरायणका कथाहरुमा कृष्ण भगवानलाई जनावरको संरक्षकको रुपमा चित्रित गरिएको छ । सार्वजनिक रुपमा बालयोगेश्वर महाराज बताउने पहेँलो वस्त्रधारी धर्मगुरु विजय भण्डारीले आफ्ना सोझा भक्तजनलाई मासु नखाने गुरुको रुपमा चिनाउने गरेका छन् । तर, सार्वजनिक रुपमा आफूलाई भगवानको भक्त बताउने यी ढोंगी बाबाले गोप्य रुपमा भने मासु समेत सेवन गर्ने गरेको पाइएको छ ।
ठगी आरोपमा पटक पटक कारागार भुक्तान गरेर आएका भण्डारीले बाजेको सेकुवामा गएर लुकीछिपी सेकुवा खाने गरेको उनी निकटहरुले बताएका छन् ।
लामो समय उनको सुरक्षामा हिँडेका व्यक्तिहरुका अनुसार उनी सेतो क्याप लगाएर केही महिलासँगै बाजेको सेकुवा पुग्ने गरेका थिए । त्यसरी परिचय लुकाएर बाजेको सेकुवा पुगेको तस्विर समेत दियोपोस्टले फेला पारेको छ । ‘अरुलाई मासु खानु पाप हो त्यस्ता मान्छे नर्क जानुपर्छ भनेर सिकाउने तर, आफै भने बाजेको सेकुवामा नियमित जस्तो सेकुवा खान जानुहुन्थ्यो । यो सबै ढोंग रहेछ,’ उनको सुरक्षामा हिँडेका एक व्यक्तिले दियोपोस्टसँग भने,‘मैले उहाँसँग एक वर्षसँगै हिँडे । उहाँ नेपालको सबैभन्दा ढोंगी बाबा हो । उहाँले गर्नु भएको धेरै अपराध छताछुल्ल भइरहेको छ ।’
सेतो क्याप र कालो ट्याकसुट लगाएर उनी साँझपख बाजेको सेकुवामा सेकुवा खान जाने गरेका छन् । उनी रेष्टुरेन्टमा अधिकांश समय केही महिलाहरुसँग देखिने गरेका छन् ।
श्रीमतीलाई र बच्चालाई अनाथ बनाएर परस्त्रीसँग अनैतिक सम्बन्धमा आफूलाई बाल योगेश्वर बताउने विजय कृष्ण मुर्तिजी महाराजले आफ्नै श्रीमती र बच्चालाई समेत बिचल्ली बनाएका छन् । गुल्मीको धुर्कोट ५ घर भएका भण्डारीले काठमाडौंकी नेवार समुदायकी एक महिलासँग विवाह गरेका थिए । अमेरिकामा धार्मिक कार्यक्रममा पठाइदिने भन्दै १०८ जना व्यक्तिबाट १ करोड २७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा उनले आफ्नी श्रीमतीलाई समेत फसाए । अमेरिका जानका लागि भन्दै पीडित गणेश श्रेष्ठले श्रीमतीको नागरिकता नम्बरका आधारमा ३ लाख रुपैयाँ पठाएका थिए । सोही विषयमा उनकी श्रीमतीलाई समेत प्रतिवादी बनाएर प्रहरीले जाहेरी दर्ता गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले समेत भण्डारीकी श्रीमतीलाई पनि प्रतिवादी बनाएर अभियोग पत्र पेश गरेको थियो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश हरि प्रताप केसीको ईजलाशले भण्डारी र उनकी पत्निलाई कैद सजाय फैसला गरेको थियो । जिल्लाको फैसला अनुसार २०७३ मा उनी कारागार समेत चलान भएका थिए । यता श्रीमती भने माइतीको घर जग्गा अदालतमा बिगो बुझाएर कारागार चलान हुन बाट मुक्त भएकी थिइन् । यसरी आफ्नो श्रीमतीलाई बिचल्ली बनाएका भण्डारी अर्की एक महिलासँग अनैतिक सम्बन्धमा छन् । उनले अधिकांश कम्पनि समेत ती महिलाको नाममा राखेका छन् । काठमाडौंमा संचालित अवैध म्यानपावर, कन्सल्टेन्सरी, होटल लगायत व्यावसाय तीनै महिला मार्फत गरेका छन् । भण्डारीले विभिन्न यज्ञ, कोटिहोम र विभिन्न नागरिकलाई अमेरिका लगायत मुलुक पठाइदिने भन्दै उठाएको लाखौँ ललितपुरको हात्ति वनमा एउटा फ्ल्याट किनेका छन् । सोही फ्ल्याटमा भण्डारी र राई थरकी ती महिला अवैध रुपमा बस्दै आएका छन् ।
भगवत कथाहरुमा परस्त्रीगमनलाई पापको संज्ञा दिइएको छ । परस्त्री गमनलाई ५ ठूला पाप मध्येको एक भनि उल्लेख गरिएको छ । तर, आफूलाई सोही भागवत गिताको अनुशरणकर्ताृ बताउने यी भण्डारीले समाजलाई गेरुवस्त्रको ढोंगदेखाएर भित्र भित्र भने परस्त्रीगमन गरिरहेका छन् ।
भिडियाे हेर्नुहाेस्