
बुटवल । बुटबलमा दुई दिनदेखि जारी तेस्रो लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा रुपन्देहीको नयाँगाउँ मावि समुह प्रथम भएको छ । रूपन्देही ‘योङ्ग ब्रदर’ संघ तथा ‘नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ’को संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा सो बिद्यालय समुह प्रथम भएको हो ।
प्रतियोगितामा प्रगति मावि बुटबल समुह दोस्रो र योगीकुटीस्थित इन्टलेक्चुअल एकेडेमी समुह तृतीय भएका छन् । उक्त खेल प्रतियोगितामा महिला खेलाडी ३० केजी तर्फ प्रगती माबिका जेनिसा जि.एम.उत्कृष्ट महिला खेलाडी बन्न सफल हुनु भयो । त्यस्तै पुरुष २५ केजी समुह तर्फ जनज्योती माबिका सुशान सारु उत्कृष्ट पुरुष खेलाडी बन्न सफल हुनु भयो ।
प्रतियोगितामा १० वर्ष मुनी ४० केजी महिला समुह अन्र्तगत आकृति जैसवाल प्रथम र नान्सी पन्थी दोस्रो हुनु भयो । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका ८ वर्ष उमेर समुह देखि १९ वर्ष उमेर समुह अन्र्तगत बिभिन्न तौल अन्र्तगतका खेलाडीबीच प्रतिस्पर्धा गराइएको थियो । बिजयी खेलाडीलाई अन्र्तराष्ट्रिय तेक्वान्दो महासंघ नेपालका केन्द्रीय अध्यक्ष चेतनराज गिरीले मेडल तथा ट्रफी बितरण गर्नु भयो ।
खेलाडी र खेल प्रेमीको हौसलाका कारण प्रतियोगता सफलतापूर्वक सम्पन्न भएको आयोजक टिम ‘योङ्ग ब्रदर’ रूपन्देहीका अध्यक्ष बम बुढा मगरले जानकारी दिनु भयो । तेक्वान्दो खेलले अनुशासन र आत्मरक्षाको बिकास हुने भएकाले केही वर्षयता यस खेलप्रति युवा तथा बालवालिकाको आकर्षण बढ्दै गएको अध्यक्ष बुढा मगरले बताउनु भयो ।
नेपाल परम्परागत खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष एवं तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय प्रशिक्षक नवराज खरेलले सबै बिद्यालयले तेक्वान्दो खेललाई व्यवस्थित ढंगले संचालन गर्नुमा जोड दिनु भयो । आजका बालबालिकालाई सबै खालका कुलतबाट मुक्त गराउन खेलको आवश्यकता रहेको भन्दै उपाध्यक्ष खरेलले उन्नत र समुन्नत समाज निर्माणमा तेक्वान्दो खेलको महत्वपूर्ण भुमिका हुनेमा बिस्वास ब्यक्त गर्नु भयो ।
नेपाल योङ्ग ब्रदर संघका केन्द्रीय अध्यक्ष जनक राज गौतम, अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ नेपाल कालोपेटी कमिटी उपाध्यक्ष भीम ज्ञवाली, डब्लु.टी. एफ. तेक्वान्दो प्रशिक्षक गणेश बहादुर कुँवर, कराते प्रशिक्षक भुपेन्द्र सिंह थापालगायतले प्रतियोगितामा बिजयी खेलाडीलाई बधाई तथा सफलताको शुभकामना दिनु भयो ।




