आफ्नै सहकर्मीमाथि ‘करणी’ प्रयास गरेको आरोपमा रेडियो ‘मलमला’का स्टेशन म्यानेजर प्रहरी हिरासतमा !

दियोपोस्ट संवाददाता  

रूपन्देही – पत्रकारिता ‘आवाज बिहिनहरुको आवाज’ हो । तर, तिनै आवाज बिहिनका आवाज बोल्ने पत्रकार नै पीडक बन्छन र पीडितका आवाज दबाउने प्रयास गर्छन भने आम ‘भुइँ मान्छे’ भनिनेहरुका आवाज कसले बोलिदिने? रुपन्देहिको सैनामैनास्थित रेडियो ‘मलमला’मा कार्यरत एक श्रमजिवी महिला पत्रकारमाथि यस्तै भएको छ ।
रेडियो ‘मलमला’का स्टेशन म्यानेजर टीका खरेलले मादक पदार्थ सेवन गरि आफ्नै सहकर्मी सुमिना (नाम परिवर्तन)माथी जबर्जस्ती करणी गर्ने प्रयास गरेको तथ्य बाहिरिएको छ ।

घटना भदौ १ गते रातीको हो । रातको समयमा आफू एक्लै भएको मौका पारेर कोठामा प्रवेश गरी खरेलले जवर्जस्ती करणी गर्न खोजेको पीडितको भनाई छ । घटना भएको रात सुमिनाका श्रीमान घर बाहिर थिए । सोही मौकामा खरेलले आफुमाथि यौन दुर्ब्यवहार गरेको पीडितले बताईन् ।

पीडित भन्छिन, ‘त्यो राती मेरो श्रीमान नभएको मौकामा उ मेरो रुममा आएर ढोका ढकढक्याउन थाल्यो । मैले ढोका खोलिन । धेरै बेरसम्म उसले ढोका ढकढक्याइ रह्यो । म निकै आत्तिएकी थिएँ । अती नै भए पछि मैले ढोका खोलेर भाग्ने प्रयास गरे । तर उसले मेरो हातमा समाएर मलाइ बिस्तारामा लडायो र जवर्जस्ती गर्न खोज्यो । म मुस्किलले भागेर जोगिन सफल भएँ ।’

आफुमाथी अन्याय भए पछि सुमिानाले आफ्नो श्रीमानलाइ फोन गरेर घटनाका बारेमा जानकारी गराएकी थिइन । उनका श्रीमानले पीडक खरेललाइ फोन गरेर घटनाका बारेमा बुझ्न खोज्दा जातीय गाली गलौज गरेको र ज्यान मार्ने धम्की समेत दिएको उनको भनाई छ ।

आफु नभएको मौका पारेर श्रीमतिमाथि करणी गर्न खोजेको भन्दै सुमिनाका श्रीमान भन्छन्, ‘म नभएको बेलामा यस्तो घटना भएछ, निकै दुख लाग्यो । त्यसमाथि मलाई उल्टै गाली गरेर झपार्यो ।’ पीडक खरेलले आफुलाई अत्यन्तै तल्लो स्तरको गाली गलौज गरेको सम्झिदै उनी भन्छन्, ‘मैले सधै आदर सम्मान गर्ने मान्छेको मुखबाट यस्तो खालको तुच्छ शब्द निस्केला भन्ने सोँचेको पनि थिएन । अझै जात जनाउछस? तिमि दमाई कामीहरुले के गर्न सक्छ? धेरै ठुलो बन्न खोज्ने होइन । सक्छन भने आफ्नो ठाउँमा बस, भन्दै मलाइ जातीय रुपमा अपमानित हुने खालका गाली गलौज गर्यो ।’ आफुले गल्ती गरेकोमा माफी माग्नु त परै जाओस उल्टै गाली गलौज र डर धम्की दिएको सुमिनका श्रीमानले दियोपोष्टलाई बताए ।

आफ्नै कार्यालयका सहकर्मिले यौन हिंसा गरेको र आफू अन्यायमा परेको भन्दै न्यायका लागि प्रहरीमा उजुरी गर्न जान खोज्दा रेडियोका अध्यक्ष लगायत समाजका गन्यमान्य भनिनेहरुले मिलापत्र गर्न दबाब दिएको सुमिनाको भनाइ छ । उनी भन्छिन्, ‘ममाथि हिंसा भएको थाहा पाउँदा पाउँदै उहाँहरुले उजुरी नगर्न दबाव दिएर उल्टै पीडा दिने काम गर्नु भयो ।’ घटना भएको ४ दिन सम्म उजुरी दर्ता गर्न नदिई घटनालाई मिलापत्रमा टुङ्ग्याउन खोजेको उनी बताउछिन् ।

पीडक खरेलले बिगतमा पनि कैयौंपटक महिलामाथि यौन दुर्ब्यवहार गरेको बताइएको छ । पीडक खरेलले राजीनितिक आड र पहुँचको भरमा धेरै महिलामाथि यौन दुर्ब्यवहार गरेको अधिकारकर्मीहरु बताउँछन् । घटनाको विषयलाई लिएर आफुलाई धेरै ब्यक्तिहरुले उजुरी नगर्न भन्दै फोनमार्फत दवाब दिईरहेको पीडितको भनाई छ ।

बिभिन्न डर धम्कीका बावजुद घटना भएको ४ दिनपछि भदौ ४ गते मंगलबार इलाका प्रहरी कार्यालय बुटबलमा न्यायका लागि उजुरी दर्ता गरेको सुमिनाका श्रीमानले बताए । उजुरी दर्ता भइसके पछि पनि आफुहरुलाई बिभिन्न ब्यक्तिहरुले फोन गरेर उजुरी फिर्ता लिन दबाव दिएको उनी बताउँछन् । ‘एमाले नेता बिष्णु पौडेलको नजिकका मान्छे हौँ’ भन्दै केही ब्यक्तिले नयाँ नम्बरबाट फोन गरेको र भेटेर छलफल गरि उजुरी फिर्ता लिन समेत दवाब दिएको उनले बताए । जस्तो सुकै डर धम्की आए पनि कानुनी लडाइ लडेरै छाड्ने उनको भनाइ छ ।

 

उनको उजुरीको आधारमा पीडक खरेललाई आज बिहानै सैनामैनाबाट पक्राउ गरी अनुसन्धान प्रकृया सुरु गरिएको प्रहरी निरिक्षक दिपेन्द्र बानियाँले जानकारी दिए ।

पीडक खरेल प्रेस चौतारी नेपाल रुपन्देही शाखाका सचिवालय सदस्य हुन् । तर, उनले कैयौँ पटक यस्तै खालका उच्छृङ्खल गतिबिधि गर्ने गरेको बताइएको छ । उनको यस्तै प्रबृत्तीका कारण संगठनले गत असार २६ गते २४ घण्टे स्पस्टीकरण सोधेको थियो । उनिबाट चित्तबुझ्दो जवाफ नआएको भन्दै उनी सम्वन्धित संगठनले कार्यसमिति सदस्य पदबाट निलम्बन गरेको थियो ।

उनी सैनामैना नगरपालिकाका पूर्व नगरप्रमुख चित्रबहादुर कार्कीका प्रेस सल्लाहकार समेत थिए । राजनीतिक पहुँच र पत्रकारिताको आडमा उनले पटक पटक महिलामाथि दुर्ब्यवहार गर्दै आएका थिए । ।

पीडित सुमिना भने बिगत केही समयदेखि रेडियो मलमलामा समाचार वाचकको रुपमा कार्यरत छिन । उनले आफ्नै सहकर्मीले आफुमाथि यस्तो कार्य गरेको भन्दै पीडकलाई हदैसम्मको कारवाही माग गरेकी छिन् ।

TATA ADD

सिफारिस