घरायसी काम ‘पहिचानयुक्त’ र लैङ्गिक ‘समावेशी’ बनाउनु पर्छ : उपसभामुख राना

रीता बुढाथोकी

काठमाडौँ । प्रतिनिधि सभाका उप–सभामुख इन्दिरा रानाले महिलाहरूको जिम्मेवारीका रुपमा मात्र हेरिने घरायसी काम हिंसारहित र पहिचानयुक्त हुनु पर्ने बताएकी छिन् । युवालयले अक्सफाम इन एसिया रिजनल प्लाटफर्मसँगको साझेदारीमा आयोजना गरेको ‘घरायसी तथा स्याहार कार्य’ सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उपसभामुख रानाले यसका लागि कानुनको प्रभावकारी कार्यान्वयन र नियमन हुनु पर्ने बताइन् ।

सो अवसरमा उप–सभामुख रानाले घरायसी काम तथा स्याहार कार्य सम्बन्धी अभिमुखीकरण तथा परामर्शको पनि आवश्यकता रहेको औल्याईन् । उनले घरायसी काम महिला मात्रैले गर्नु पर्छ भन्ने माशिकताका कारण धेरै महिला पुरुषबीच असमानताको खाडल सिर्जना भएको बताइन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सचेतक बीना लामाले अझै पनि जनसङ्ख्याको ठूलो हिस्सा घरायसी काम तथा स्याहार कार्यमा रहँदा पनि त्यसका लागि छुट्टै नीति बन्न नसकेकोमा दुख ब्यक्त गरिन । यसका लागि जनप्रतिनिधि सँगसँगै नागरिक समाजले एकीकृत पहलकदमी गर्नुपर्नेमा उनले जोड दिइन । सो अवसरमा सचेतक लामाले आगामी दिनमा आफ्नो पार्टी र संसदमा समेत यस बारेमा आफूले आवाज उठाउने प्रतिबद्धता ब्यक्त गरिन् ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले ‘स्याहार कार्य’ घरभित्र गर्दा त्यसको सम्मान र पहिचान नहुने तर इजरायल लगायतका विभिन्न देशमा गएर गर्दा भने कमाई र पेशाले मान्यता पाउने गरेको भन्दै कामप्रतिको दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याइन । अहिले पनि घरभित्र पूजाकार्य, भान्साका काम, सरसफाईका काम महिलाले मात्रै गर्ने तर, तिनै कार्य घर बाहिर पेशागत रुपमा गर्दा पुरुषले गर्दा घरायसी कामको अझै मूल्याङ्कन हुन नसकेको बताइन् । यसका लागि राष्ट्रिय महिला आयोगले चेतना अभिवृद्धि गर्नका लागि निरन्तर अभियानहरू सञ्चालन गरिरहेको अध्यक्ष पराजुलीले जानकारी गराइन् ।

कार्यक्रमा बोल्दै त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभागका प्रमुख प्रा.डा. नन्दिता शर्माले घरायसी काम तथा स्याहार कार्य सम्बन्धि रहेको सामाजिक गलत बुझाइ चिर्नका लागि पाठ्यक्रमहरूमा पनि परिमार्जन गर्नुपर्ने धारणा ब्यक्त गरिन् । घरायसी कामलाई प्राथमिक तहबाट नै बालबालिकाहरूलाई बुझाउनुपर्ने उनको भनाई छ ।

त्यस्तै बागमती प्रदेश सभा सदस्य शुष्पा भुजेलले ठूलाठूला भवन र पुल निर्माण गरेर मात्र विकास नहुने भन्दै आमरुपमा महिलाहरुले भोग्दै आएका विषयमा तिनै तहका सरकारले जिम्मेवार रुपमा कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताइन् ।

सो अवसरमा युवालयका अध्यक्ष धर्मराज रिमालले युवालयले स्थानीय तहदेखि प्रदेश र संघीय तहसम्म चरणगत रुपमा घरायसी काम तथा स्याहार कार्यका बारेमा सरकारवालाहरूसँग निरन्तर पैरवी गर्दै आइरहेको बताए । घरायसी काम तथा स्याहार कार्य कुनै लैङ्गिक विशेषमात्र नभई यस कार्यमा सबैले सहकार्य गर्नुपर्ने बोध युवाले गर्न सकेमा यस अभियानले गति पाउनेमा उनले विश्वास व्यक्त गरे ।