
काठमाडौं । सरकारले शिक्षक तथा प्रध्यापकलाई राजनीतिमा लाग्न प्रतिबन्ध लगाएको छ । तर, कैलालीको राष्ट्रिय कलेज सुखडका सहायक प्रमुख उदय विष्ट भने खुलमखुल्ला राजनीतिमा लागेका छन् । उनी हालै नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले धनगढीमा आयोजना गरेको एक कार्यक्रमबीच सहायक कलेज प्रमुख विष्टलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई दिँदै आफ्नो पार्टीमा भित्र्याएका हुन् ।
बुधबार मात्रै राष्ट्रिय कलेज सुखडको सहायक प्रमुखमा नियुक्त गरिएका विष्ट अर्को दिन बिहिबार (माओवादी केन्द्र) प्रवेश गरेको विषयले अहिले चर्चा पाएको छ । उनलाई सोही कलेजका अध्यक्ष खगेन्द्र हमालले पार्टी प्रवेशमा सघाएको आरोप लागेको छ । हमाल माओवादी केन्द्रका घोडाघोडी नगर अध्यक्ष हुन् । “सहायक कलेज प्रमुख विष्टलाई आफुले पार्टी प्रवेश गराएको विषय निराधार भएको हमालले बताएका छन् । आफुहरु कलेजको समस्या पार्टी अध्यक्ष सामु व्यक्त गर्न गएका थियौं,” कलेज अध्यक्ष हमालले भने ।
यस वर्ष सरकारले ल्याएको नीति तथा कार्यक्रमको अनुछेद १५१ मा सरकारी, सामुदयीक तथा संस्थागत शिक्षालयका प्राध्यापक, शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्यता हुन नपाउने कानूनी व्यवस्थाको पूर्ण कार्यान्वयन गरिने छ,‘ भनि उल्लेख गरिएको छ । तर, सरकारकै नीतिको खिल्ली उडाउँदै कलेजका सहायक प्रमुख विष्टले माओवादी प्रवेश गरेको विषयले अहिले निकै चर्चा पाएको छ ।
“पार्टीले आयोजना गरेको कार्यक्रममा गएको र पार्टी अध्यक्षले आफु नयाँ कलेज प्रमुख भएकोमा बधाई दिएको कुरा साचो हो,” सहायक कलेज प्रमुख विष्टको भने, ‘पार्टी प्रवेश गरेको भन्ने विषय हल्ला हो । तर, सोही दिन उनीसंगै माओवादी केन्द्रमा प्रवेश गरेका कैलाली घोडाघोडी नगरपालिका २, का विक्रम चौधरीले भने, “आफुहरु दुवै जनालाई पार्टी कार्यक्रममा धनगढी लग्दा स्कोर्पियोमा लागिएको र पार्टी प्रवेश गर्ने विषयमा दुवै जनाले संगै नाम टिपाएर प्रवेश गरेको बताएका छन् ।