काठमाडौं । ‘स्तनपानलाई प्राथमिकता दिऔं, दिगो सहयोग प्रणाली निर्माण गरौं’ भन्ने नाराका साथ हरेक वर्ष अगस्ट १ देखि ७ सम्म मनाइने विश्व स्तनपान सप्ताह आजबाट सुरु भएको छ । आमाहरुलाई स्तनपानको महत्त्व बुझाउने, नवजात शिशुको पोषण र स्वास्थ्यमा स्तनपानको योगदानप्रति जनचेतना फैलाउने उद्देश्यले यो सप्ताह मनाइन थालिएको हो ।
विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अगस्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउन आब्हान गरेको छ । यस अवसरमा नेपाल मेडिकल कलेजमा पनि साताब्यापी कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले नवजात शिशु र आमालाई स्वस्थ राख्न स्तनपान महत्वपूर्ण भएको बताइन् । ‘स्तनपान आमा र शिशुको स्वास्थ्यको लागि ज्यादै नै महत्वपूर्ण छ । जबसम्म आमाले पौष्टिक आहार पाउँदैन तबसम्म स्तनपान गर्ने बच्चाले पनि पाउन सक्दैन,’ उनले भनिन् ।
विश्वका विकसित देशहरुमा कस्मेटिक्सका कारण स्तनपान नगराउने चलन रहेपनि नेपालमा भने स्तनपान गराउने धेरै रहेको उनले बताइन् । डा. सबिहाले शिशु जन्मने वित्तिकै उसलाई पोषण चाहिने र त्यो पोषण आमाको दुधबाट मात्र प्राप्त हुने बताउँदै आमाको दुधमा शिशुको लागि अपरिहार्य रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति समेत रहेको जानकारी दिइन् ।
स्तनपानकै कारण आमा र बच्चाबीच गहिरो माया बढ्ने बताउँदै डा. सबिहाले स्तनपानले स्तन क्यान्सर र पाठेघरको क्यान्सरको जोखिम पनि घटाउने भएकोले प्रत्येक घरपरिवारले स्तनपानको महत्व दर्शाउनु पर्ने धारणा ब्यक्त गरिन् ।
नेपाल मेडिकल कलेजले नियमित रुपमा स्तनपानको महत्व बारे सचेतना दिदैँ आएको उनले बताइन् ।
कार्यक्रममा कलेजका अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्याय, कार्यवाहक मेट्रोन शान्ति गुरुङले स्तनपानको महत्व बारे प्रकाश पारेका थिए ।
सो अवसरमा कलेजमा आएका सर्वसाधारणलाई पनि स्तनपानको महत्व बुझाइएको थियो । नवजात शिशुको प्रारम्भिक पोषण, विकास र रोग प्रतिरोधात्मक क्षमताको लागि स्तनपान अत्यन्त महत्वपूर्ण छ ।
कार्यक्रममा आमालाई स्तनपान गराउन प्रेरित गर्ने र सहज बनाउने कुरालाई समाज र राज्यले प्राथमिकतामा राख्नुपर्ने बताइएको छ । स्वास्थ्यकर्मी, परिवार, कार्यस्थल र नीतिनिर्माताहरू सबैले मिलेर दीर्घकालीन रूपमा आमाहरूलाई स्तनपान गराउन सहज वातावरण बनाउन जरुरी देखिन्छ ।



