धरौटीमा रिहा भएका कांग्रेस नेता अभिषेक गिरी विराटनगर विमानस्थलबाट पुनः पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाली कांग्रेस विराटनगरका नेता अभिषेक गिरी ठगी मुद्दामा धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् । काठमाडौँबाट बुद्ध एयरको उडानमार्फत बिहीबार साँझ ७ः०५ बजे विराटनगर आइपुगेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनलाई विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

यसअघि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ परेका गिरीलाई अर्को मुद्दामा पक्राउ पुर्जी जारी भएका कारण मोरङ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार गिरीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा यसअघि नै अदालतबाट पक्राउ अनुमति लिइसकिएको थियो। सोही पक्राउ पुर्जी कार्यान्वयन गर्दै उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

निर्माण व्यवसायी सुभाष श्रेष्ठले आफूबाट रकम असुली गरिएको भन्दै दिएको किटानी जाहेरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले गत असार २३ गते विराटनगरबाट गिरीलाई पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ लगेको थियो।

सीआईबीको अनुसन्धानबाट गिरीले २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको निष्कर्ष निकाल्दै सोही रकम बिगो मागदाबी गरी मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाइएको थियो। त्यसपछि सरकारी वकिल कार्यालयले साउन १४ गते काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो।

उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले गिरीलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। प्रारम्भमा धरौटी रकम बुझाउन नसकेपछि उनलाई डिल्लीबजार कारागार पठाइएको थियो। पछि धरौटी बुझाएर रिहा भएका गिरी विराटनगर फर्केलगत्तै अर्को मुद्दामा पुनः पक्राउ परेका हुन्।

सीआईबीका अनुसार विराटनगर महानगरपालिका-८ मधुमाराका ४८ वर्षीय गिरीले आरसी सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालिमार्फत निर्माण व्यवसायी श्रेष्ठले पाएको ठेक्का सम्पन्न गरिदिने आश्वासन दिई रकम लिएर ठगी गरेको आरोप छ।

मोरङ प्रहरीले गिरीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको जनाएको छ। यसअघि पनि मोरङ प्रहरीले असार १३ गते मोरङ कारागारका कैदीबन्दीबाट अवैध असुली गरेको आरोपमा गिरीलाई उनकै निवासबाट पक्राउ गरेको थियो। उक्त मुद्दामा हाजिर जमानीमा छुटेपछि सीआईबीले ठगी प्रकरणमा पुनः नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।

सम्बन्धित खबर

सिफारिस